सांसद सिंहको प्रश्न: डेडिकेटेड र ट्रंकलाइनको बक्यौता कहिले उठाउने हो ?
सांसद अमरेश कुमार सिंहले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुली किन ढिला भयो भन्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग सदनमा प्रश्न गरेका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका बेला सिंहले सरकार गठन भएको एक वर्ष भइसक्दा पनि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन नसकेकोमा गम्भीर आपत्ति जनाए।
‘सरकार बनेको एक वर्ष पुगिसक्दा पनि अहिलेसम्म महशुल उठाउन सकेको छैन,’उनले भने,’ बक्यौता उठान कति वर्ष लाग्छ ? यसबारे पनि जानकारी गराइदिनु होला।’सिंहले कृषि विद्युतीकरणको प्रगति पनि शून्य जस्तै देखिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराए। जवाफमा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइन प्रणालीको पुनरावलोकन गर्ने बताए।