नयाँ अनुहार पुरानै भुल

नयाँ अनुहार पुरानै भुल

पुराना नेताहरू आफ्नो शक्ति–सन्तुलन, कमजोरी र मजबुती सबै तौलिँदै एक ठाउँमा आउने गरी निरन्तर वार्तामा छन्। उनीहरूलाई थाहा छ—अलग–अलग रहँदा खतरा छ, मिल्दा सत्ता सुरक्षित हुन्छ। तर ठीक यही समयमा ‘नयाँ’ भनिएकाहरू अझै पनि एकताको एजेन्डाभन्दा बार्गेनिङ, भाग खोज्ने मानसिकता र व्यक्तिगत स्वार्थमै अल्झिएको देखिनु सबैभन्दा खतरनाक संकेत हो।

सबैभन्दा खतरनाक सत्य यही हो—यदि नयाँ भनिएका शक्तिहरूले पनि उही सत्ता–लोभ, उही सम्झौता र उही स्वार्थको बाटो रोजे भने जनता एक सेकेन्ड पनि ढिला नगरी “जुन जोगी आए पनि कानै चिरेका” भन्दै उनीहरूलाई अस्वीकार गर्नेछन्। त्यसपछि नयाँ राजनीतिका नाममा बाँकी रहेको आशा पनि समाप्त हुनेछ।

यदि रवि, बालेन, कुलमान र हर्क एउटै चुनाव चिन्ह र एउटै पार्टीको रूपमा अघि आएनन् भने, चुनावपछिको राजनीतिक समीकरण अहिलेको भन्दा पनि झन् खतरनाक र झन् भद्रगोल हुने निश्चित छ। यसले ‘नयाँ राजनीति’को सम्भावनालाई बलियो बनाउने होइन, उल्टै कमजोर र विखण्डित बनाउनेछ।

रवि र रास्वपाको हकमा जनताले एकपटक स्पष्ट रूपमा अनुमोदन गरिसकेका छन्। संगठन, सांगठनिक संरचना र देशव्यापी उपस्थिति रास्वपाको ठोस बल हो। तर बालेनको कुरा गर्दा उनी अझै भ्रममै देखिन्छन्। न त उनको बलियो संगठन छ, न त जनतासँग स्थापित र दीर्घकालीन सांगठनिक संरचना। काठमाडौंमा देखिएको जुलुस र सामाजिक सञ्जालको हुटिङ नै देशव्यापी जनमत हो भन्ने बुझाइ गम्भीर राजनीतिक भूल हुन सक्छ। ती भीडमा देखिने ‘म पनि बालेनजत्तिकै लोकप्रिय छु’ भन्ने भ्रम पाल्ने धेरै व्यक्तिको वास्तविक राजनीतिक हैसियत जनतामाझ शून्यजस्तै छ। त्यही उचालाइको भरमा आफूलाई बलियो ठान्नु आत्मघाती भ्रमबाहेक केही होइन।

कुलमानको अवस्था पनि धेरै हदसम्म उस्तै छ। उनले प्राधिकरणमा बसेर काम गरेका छन्, र अझै पनि गर्न सक्छन्—यसमा शंका छैन। तर चुनावी राजनीतिमा व्यक्तिले गरेको काम मात्रै पर्याप्त हुँदैन। उसको पछाडि उभिने संगठित शक्ति, स्पष्ट एजेन्डा र त्यो एजेन्डा बोकेर जनतामाझ जाने सक्षम नेतृत्व टोली अनिवार्य हुन्छ।

हर्कको जनमत पनि व्यापक राष्ट्रिय आधारमा भन्दा सीमित घेराभित्र देखिन्छ। जातीय वा अतिवादी भाष्यबाहेक अन्य वर्गसम्म उनको प्रभाव अझै फैलिएको देखिँदैन। यद्यपि ग्राउन्ड तहमा, विशेषगरी पूर्वी क्षेत्रमा, उनको उपस्थिति कुलमान र बालेनको भन्दा केही बलियो देखिए पनि त्यो पनि दीर्घकालीन र प्राप्त भइसकेको जनमत भन्न सकिने अवस्थामा छैन। यही यथार्थले सबैलाई एउटै ठाउँमा आउनु अनिवार्य बनाएको छ।

अहिले देखिएको जनमत र समर्थनको अवस्थाले वडा अध्यक्षसम्म जितिन्छ कि जितिँदैन भन्ने प्रश्नसमेत खुलै छ। चुनावअगावै हुने जुलुस, भाषण र गतिविधि हेरेर ‘मेरो पछि त सबै रहेछन्’ भन्ने निष्कर्ष निकाल्नु सबैभन्दा ठूलो राजनीतिक भूल हुनेछ।

यो चेतावनी कुनै व्यक्तिगत आक्रोश वा सामान्य आलोचना होइन—यो जनताको गहिरो डर हो। व्यक्तिगत अहंकार, अलग–अलग बाटो र आपसी प्रतिस्पर्धाले ‘नयाँ राजनीति’लाई जन्मिनुअघि नै कमजोर बनाउने जोखिम स्पष्ट रूपमा देखिइसकेको छ। यदि नयाँ भनिएका शक्तिहरूले पनि संयम, एकता र स्पष्ट दिशाविनै अघि बढे भने जनताको अपेक्षा मात्र होइन, देशको राजनीतिक भविष्य नै थप अन्योल र अस्थिरतामा फस्नेछ।

त्यसैले अहिले नै सचेत हुने समय हो। अझै पनि ढिलो भएको छैन। तर यदि यही भ्रम, अहंकार र आपसी टकराव निरन्तर चलिरह्यो भने परिणाम नियन्त्रणबाहिर जान धेरै समय लाग्दैन—र त्यसको मूल्य केवल नेताहरूले होइन, सिंगो देशले तिर्नुपर्नेछ।

ई. दान बहादुर साउद

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स