सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्को दुवै सदनलाई सम्बोधन गर्ने व्यवस्थाअनुसार, राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो ३ बजे सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
बैठक आज दिउँसो ३ बजे बोलाइएको हो। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सदस्यहरूलाई दिउँसो २:४५ भित्र निर्धारित पोशाकमा आशन ग्रहण गर्न आग्रह गरिसकेका छन्।
सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमबारे सत्ता गठबन्धनका दलहरूबीच पूर्व छलफल भइसकेको छ। यस वर्षको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ केन्द्रित रहने विश्वास गरिएको छ। विशेषगरी युवा लक्षित कार्यक्रमहरू — उद्यमशीलता, सीप विकास, स्टार्टअप प्रवर्द्धन, व्यावसायिक योजना, सरकारी खर्च वृद्धि तथा सुशासन सुदृढीकरणमा नीतिहरू केन्द्रित हुने अनुमान गरिएको छ।
संघीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय गरिसकेको छ।
त्यसपछि, वैशाख ३० गतेदेखि विनियोजन विधेयकमाथिको सिद्धान्त तथा प्राथमिकता सम्बन्धी छलफल प्रारम्भ हुनेछ, जुन ‘प्रि–बजेट’ छलफलका रूपमा लिइनेछ। संविधानअनुसार, आगामी जेठ १५ गते अर्थमन्त्रीले संघीय संसद्को संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।