‘उपाय’मा डोल्मा इम्प्याक्ट फन्ड II को थप २८ करोड लगानी

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २९ गते
‘उपाय’मा डोल्मा इम्प्याक्ट फन्ड II को थप २८ करोड लगानी

काठमाडौं । प्रविधिमा आधारित नेपालको अग्रणी लजिस्टिक्स कम्पनी ‘उपाय’ ले डोल्मा इम्प्याक्ट फन्ड II बाट रु २८ करोड (अमेरिकी डलर २ मिलियन)को थप लगानी जुटाएको घोषणा गरेको छ। यसले नेपालको लजिस्टिक्स क्षेत्रलाई अझ छिटो, प्रभावकारी र समावेशी बनाउन उपायको यात्रामा महत्वपूर्ण मोड थपेको कम्पनीले जनाएको छ।

यससँगै, उपायले साथी, परिवार र परिचितहरूबाट ‘Quarterback Round II’ अन्तर्गत रु २७ करोडको निजी लगानी संकलन गर्दै, कुल रु ५५ करोडको यो चरण बन्द गर्ने तयारी गरेको छ।सन् २०१९ मा काठमाडौंमा स्थापना भएको उपायले व्यावसायी, चालक र ग्राहकलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै Door-to-Door डेलिभरी, Third-Party Logistics गोदाम सेवा र अन्य लजिस्टिक्स सेवा दिदै आएको छ।

आजसम्म कम्पनीले रु २०० करोडभन्दा बढी लगानी संकलन गरिसकेको छ। यस चरणसहित, डोल्मा इम्प्याक्ट फन्ड II ले मात्र रु ७१ करोड लगानी गरेको छ। यसको लगानीकर्तामा FMO, BII, SwedFund, IFC, DFC र JICA जस्ता अन्तर्राष्ट्रिय संस्था छन्।

उपायका प्रबन्ध निर्देशक तथा सह-संस्थापक सुमन रायमाझीले,“यो लगानी पूँजी मात्र होइन, नेपालमा राइड्स, खाना, वस्तु तथा व्यवसाय क्षेत्रहरूमा अवसर विस्तार गर्ने एक कोशेढुंगा हो। यसले हाम्रो प्लेटफर्म विस्तार, इकोसिस्टम सुदृढीकरण र श्रीलंका तथा भुटानजस्ता क्षेत्रीय बजारमा समेत नवीनतम सेवा पुर्‍याउने हाम्रो लक्ष्यलाई गति दिनेछ।” बताए।उक्त रकमबाट कम्पनीले एआई-आधारित लजिस्टिक्स प्लेटफर्म विकास, नेपालभर २०० शाखा विस्तार, दक्षता र नेटवर्क वृद्धि, तथा Third-Party Logistics गोदाम परियोजनामा इक्विटी सहभागिता गर्ने योजना अघि बढाउनेछ।

डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक तथा सीईओ टिम गोचर OBE का अनुसार, उपायले केवल लजिस्टिक्स समस्या मात्र समाधान गरेको छैन, यसले नेपालभर दिगो र छिटो लजिस्टिक्स नेटवर्कका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ। यसको सशक्त कार्यान्वयन र विस्तारयोग्य प्रविधिले दीर्घकालीन प्रभाव सिर्जना गर्ने क्षमता राख्ने उनको भनाइ छ।

उपायका सह-संस्थापक तथा निर्देशक रंजीव श्रेष्ठले भने, “सुरुवाती दिनदेखि नै डोल्माको विश्वास, पूँजी र रणनीतिक मार्गदर्शनले हाम्रो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। हामी गुणस्तरीय सेवालाई रचनात्मक र साहसी रूपमा विस्तार गर्ने प्रतिबद्धतामा छौं।”

उपायले माल ढुवानी, भण्डारण, फुलफिलमेन्ट, गोदाम व्यवस्थापनदेखि अन्तिम चरणको वितरणसम्मका सम्पूर्ण लजिस्टिक्स समाधान प्रदान गर्दै आएको छ। यसको सञ्जालमा काठमाडौंस्थित अत्याधुनिक डिजिटल ट्रान्सपोर्ट नगर, पेप्सीकोलास्थित १८,००० वर्गफुटको फुलफिलमेन्ट सेन्टर, ७ क्षेत्रीय कार्यालय, ५५ भन्दा बढी सपोर्ट हब र ३५० भन्दा बढी ड्रप अफ लोकेसन छन्।

हाल, कम्पनीले काभ्रेपलाञ्चोकको साँगामा नेपालको पहिलो ठूलो Third-Party Logistics गोदाम परियोजना विकास गरिरहेको छ। अन्तर्राष्ट्रिय विस्तारका लागि श्रीलंकास्थित अलायन्स फाइनान्स कर्पोरेसनसँग साझेदारी गर्दै कोलम्बोमा आफ्नो ‘Delivered’ लजिस्टिक्स प्ल्याटफर्म संचालनमा ल्याएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स