पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार, बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको २३ अर्ब ७८ करोड रुपैयाँको तुलनामा १८ अर्ब रुपैयाँ बढी हो।
गैरबैंकिङ सम्पत्ति बढ्नुको प्रमुख कारण निष्क्रिय कर्जाको वृद्धिलाई मान्न सकिन्छ। गत वर्षको माघसम्म बैंकहरूको औसत निष्क्रिय कर्जा दर ३.७३% थियो, जुन अहिले बढेर ४.९२% पुगेको छ। कर्जा नउठेपछि बैंकहरूले धितो लिलामी गर्न खोजे पनि बिक्री हुन नसकेपछि ती सम्पत्ति आफैंले सकार्दै आएका छन्।घर-जग्गा बजार सुस्त भएका कारण पटक–पटक सूचना जारी गर्दा पनि बिक्री सम्भव नभएपछि बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको हो।
हाल १७ वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत वर्षको तुलनामा ७९.८९% ले वृद्धि भएर ३५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
सबैभन्दा उच्च गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ। बैंकको गैरबैंकिङ सम्पत्ति एक बर्षमा १६८.६८% ले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।दोस्रो स्थानमा रहेको हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।तेश्रोमा एनआईसी एशिया बैंकको सम्पत्ति २३% ले बढेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने नबिल बैंकको गैरबैंकिङ सम्पत्ति १४५% ले वृद्धि भएर ३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति ५६% ले बढेर ३ अर्ब १० करोड पुगेको छ।
यसरी गैरबैंकिङ सम्पत्तिको बढ्दा बैंकहरूको वित्तीय जोखिम बढ्ने र नाफामा प्रत्यक्ष असर पार्ने देखिन्छ। यसले नगद प्रवाहमा बाधा पुर्याउने भएकाले बैंकहरूले प्रभावकारी रणनीति अपनाउनुपर्ने आवश्यकता छ। कर्जा व्यवस्थापनमा सुधार ल्याउन नसकिएमा गैरबैंकिङ सम्पत्तिको वृद्धि अझै बढ्ने सम्भावना छ।

प्रतिकृया