राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको दाबी गरेका छन्।
उनका अनुसार सात महिना अगाडि उनी गृहमन्त्रीको पदमा थिए र त्यस समय एमाले-माओवादी गठबन्धन सरकारमा रहेका थिए। उनले त्यसबेला कांग्रेसले आफूलाई सरकारमा आउनको लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन्। उनले सार्वजनिक फोरम तथा संसदबाट पनि पटकपटक कांग्रेसले आफूलाई सरकारमा आउनको लागि प्रधानमन्त्री अफर गरेको र प्रधानमन्त्री बन्न दिएको ‘कन्ट्रयाक पेपर’ आवश्यक परेका दिन सार्वजनिक गर्ने बताएका थिए। तर, कांग्रेसको तर्फबाट कसले प्रस्ताव गरेको भन्नेबारे ‘समय आएपछि’ खुलाउने भनेका थिए।
आज लामिछानेले प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शेरबहादुर देउवाले आफैँ प्रधानमन्त्रीको प्रस्ताव गरेको दाबी गरेका छन्। सहकारी ठगीको छानबिन प्रभावित पार्न हारगुहार गरेको छ रे नि भन्ने प्रश्नको जवाफमा लामिछानेले प्रधानमन्त्रीसँग भेट हुनु स्वाभाविक भएको र धेरैअघि मात्र देउवासँग भेट भएको बताए। मैले भेटेको छैन शेरबहादुरजीलाई कुनै बेला उहाँले नै प्रधानमन्त्री प्रस्ताव लिएर आउँदा भेट भएको हो। उहाँले नै मलाई भेटेको हो। मैले उहाँलाई त्यसपछि भेटेको छैन, उनले भने।
यसअघि रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले र सांसद मनिष झा लगायतका नेताहरूले पनि कांग्रेसको नाम नलिई ‘‘कसैले च्याप्प समातेर प्रधानमन्त्री बनाइदेला भनेर जोगिएर हिँड्नु परेको’ भन्दै कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको बताएका थिए। यससँगै कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती समेत दिएका थिए।
















प्रतिकृया