नेकपा एमालेले यसपटकको निर्वाचनमा झन्डै आधा हिस्सा गुमाएको देखिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको एमाले २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ। यसपटक एमालेले समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत प्राप्त गरेको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा करिब ४८.८४ प्रतिशत कम हो। अघिल्लो पटक एमालेले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको थियो।
प्रत्यक्षतर्फ पनि एमालेको मत ह्वात्तै घटेको छ। अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ४४ स्थानमा जितेको पार्टी यसपटक ९ स्थानमा मात्र जित हासिल गर्न सफल भएको छ। यसपटक एमालेले ताप्लेजुङ, इलाम–२, संखुवासभा, धनकुटा, बाँके–२, दैलेख–२, अछाम–२, बझाङ र दार्चुला क्षेत्रमा मात्रै जित हासिल गरेको छ।
निर्वाचन आयोगका अनुसार, एमालेले देशव्यापी रूपमा ठूलो मताधार गुमाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबाले काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा एमालेको मत घट्न पुगेको हो। साथै, झापा–१, झापा–३, मोरङ–३, ४, ५, ६, सुनसरी–१, २, ४, सप्तरी–२, ३, ४, सिराहा–२, ४, महोत्तरी–१, २, ३, सर्लाही–१, २, ३, रौतहट–२, ३, ४, बारा–३, काठमाडौं–१, २, ३, ५, ७, ८, ९, १०, भक्तपुर–१, ललितपुर–२, ३, चितवन–२, ३, गोरखा–१, २, तनहुँ–१, रूपन्देही–१, ३, कपिलवस्तु–२, दाङ–१, नवलपरासी–१, २, कैलाली–१, ३, डडेलधुरा गरी ४९ स्थानमा एमालेका उम्मेदवारको जमानत जफत भएको छ।
निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार, आगामी संसदमा एमालेको २५ सांसदको प्रतिनिधित्व रहने सम्भावना देखिन्छ। यसमा प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ १६ जना सांसद रहने अनुमान गरिएको छ। २०७९ सालको निर्वाचनमा भने एमालेको प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसद प्रतिनिधित्वमा थिए।
















प्रतिकृया