बहुमत पुग्ने नदेखिएपछि संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

बहुमत पुग्ने नदेखिएपछि संसदमा अध्यादेश पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

सरकारले बहुमत जुटाउने सम्भावना नदेखिएपछि आज दुवै सदनमा निर्णयार्थ पेस गर्न लागिएका ६ वटा अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। राष्ट्रिय सभामा आवश्यक समर्थन अभाव भएपछि सरकार यो निर्णयमा पुगेको हो।

संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशहरू निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको थियो। तर कानुनमन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग अध्यादेश पेस नगर्न आग्रह गरेपछि कार्यसूची हटाइएको हो।

राष्ट्रिय सभामा बहुमत नपुग्ने स्थिति देखिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग समर्थनका लागि छलफल गरेका थिए। तर जसपा नेपालले निर्णय गर्न थप समय मागेपछि अध्यादेश पेस गर्ने सम्भावना टरेको हो।

अध्यादेश पारित गर्न प्रतिनिधिसभामा कांग्रेस र एमालेको बहुमत पुग्ने भए पनि राष्ट्रिय सभामा सत्तापक्षलाई जसपाका ३ सांसदको समर्थन आवश्यक पर्ने देखिएको थियो। जसपाले तत्काल निर्णय नगर्ने स्पष्ट गरेपछि सरकार अध्यादेश निर्णयार्थ पेस नगर्ने निष्कर्षमा पुगेको हो।

प्रतिपक्षी दलहरूले प्रतिनिधिसभामा ५० र राष्ट्रिय सभामा १६ अस्वीकृत प्रस्ताव दर्ता गराइसकेका छन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स