संसद्को बजेट अधिवेशन आजदेखि सुरु, अर्थमन्त्री पौडेलले विधेयक पेस गर्ने
- शिक्षक आन्दोलनको दबाबमा अधिवेशन अघि सारियो
संघीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १९ गते सम्पन्न भएको थियो। त्यसपछि करिब तीन साता विश्राम पश्चात् आज पुनः संसद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनापछि बजेट अधिवेशन सुरु गर्ने योजना बनाएका थिए। तर, हाल जारी शिक्षक आन्दोलनको चापका कारण सरकारले अधिवेशन केही दिनअघि नै बोलाएको हो। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै तीन सातादेखि शिक्षकमहासंघले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। आन्दोलनरत शिक्षकलाई विश्वासमा लिन संसद अधिवेशन अघि सारेको बताइएको छ।
सरकारले अधिवेशनको सुरुवातमै विद्यालय शिक्षा ऐनसहितका विधेयक पारित गर्ने तयारी गरेको छ। तर, आन्दोलनरत शिक्षकहरूले सरकारप्रति अझै पनि विश्वास नदेखाउँदै आन्दोलन जारी राखेका छन्।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले पछिल्ला समसामयिक विषयवस्तुहरूमा आफ्नो धारणा सार्वजनिक गर्नेछन्।
त्यसैगरी, आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची पनि समावेश गरिएको छ।