नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका अधिकार खोस्ने कुनै पनि गतिविधि भए सडक र सदन दुवै माध्यमबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक रूपमा सहयोग गर्ने तर संविधान र राष्ट्रिय हितमाथि आँच आउने काम स्वीकार्य नहुने स्पष्ट पारे।
प्रचण्डले अहिले विद्यार्थी तथा कर्मचारी ट्रेड युनियनका अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न चेतावनी दिए।
उनले आफूहरू संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्दै जनताको अधिकार विस्तार गर्न र संघीयतालाई बलियो बनाउन सकारात्मक भूमिका खेल्ने बताए।
साथै, निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको उल्लेख गर्दै पार्टीभित्र गम्भीर समीक्षा भइरहेको जानकारी दिए। उनले आत्मसमीक्षामार्फत संगठनलाई सुदृढ बनाउँदै जनतासँग पुनः जोडिन सके आगामी निर्वाचनमा पहिलेको जस्तै परिणाम ल्याउन सकिने विश्वास व्यक्त गरे।
















प्रतिकृया