‘नीति नियम राम्रो भयो भने लगानी आफैं आउँछ’: राजेशकुमार अग्रवाल

‘नीति नियम राम्रो भयो भने लगानी आफैं आउँछ’: राजेशकुमार अग्रवाल

मुलुकको समृद्धिको संवाहकका रूपमा उद्योग क्षेत्रलाई मानिन्छ । उद्योगविना मुलुकको आर्थिक उन्नतिको कल्पना गर्न सकिँदैन । नेपालको अर्थतन्त्रलाई टेवा दिन काँध थापिरहेको उद्योग क्षेत्रले राज्यबाट सहज नीति निर्माण र लगानीको अवसर खोजिरहेको छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उद्योग क्षेत्र राज्यकै नीति, नियमका कारण अप्ठ्यारोमा छ । आर्थिक समृद्धिको पहिलो सर्त उद्योगहरूको विकास र विस्तार हो । औद्योगिक विकासका लागि नीतिगत तथा कानुनी सुधार अपरिहार्य छ ।

प्रधानमन्त्री जुद्धशमशेर राणाले वि.सं. १९९३ मा विराटनगर जुट मिलको स्थापनासँगै नेपालमा औपचारिक रूपमा उद्योग, कलकारखाना खुल्ने क्रम सुरु भएको हो । विराटनगर जुट मिलको स्थापनासँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्र नभई देशभर उद्योग स्थापनाको लहर सुरु भयो । यद्यपि पहिलो उद्योगको इतिहास बनाएको विराटनगर जुट मिल भने अहिले बन्द छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकले खुला बजार र उदार अर्थनीति अवलम्बन गरेसँगै निजी लगानीका उद्योगहरू खुल्ने क्रम बढेको हो ।
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार उद्योग विभागमा २०८० फागुनसम्म ९ हजार ३ सय ४४ उद्योग दर्ता भएका छन् । त्यसमध्ये ठुला उद्योगको हिस्सा १५ प्रतिशत छ भने मझौला २२.६. प्रतिशत र साना ६२.४ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मुलुुकभर रहेका साना/ठुला ६० हजार १ सय ८५ औद्योगिक प्रतिष्ठानमा ६ लाखभन्दा बढी जनशक्ति प्रत्यक्ष संलग्न छन् ।

उद्योगहरूले रोजगारीको सिर्जना, आन्तरिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनसँगै मुलुकको राजस्व योगदानमा समेत महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । मुलुकको राजस्व वृद्धिमा योगदान पुर्रयाई रहेका उद्योगी, व्यवसायीहरूका समस्या समाधान गर्न राज्यले पनि विशेष ध्यान दिनुपर्छ । उद्योगको प्रवर्धनका लागि सहज नीति र सहयोगी कानुन अहिलेको आवश्यकता हो । सरकारले विदेशी लगानीलाई प्रोत्साहन गरिरहेको छ तर, अपेक्षाकृत सफलता हात पारेको छैन । लगानीकर्ताहरूले स्थिर नीति तथा कानुनसँगै सम्बन्धित मुलुुकको प्रक्रियागत परिवेशलाई पनि विशेष ध्यान दिन्छन् ।

वर्तमान अर्थतन्त्रको अवस्था
खासगरी वर्तमान अवस्थामा अर्थतन्त्रका बाह्य स्रोतहरू मजबुत र राम्रो देखिएको छ भने आन्तरिक अवयवहरू लगानीअनुुकूल र सहज देखिए पनि अवस्था भने निकै जटिल, संकुचित र कमजोर देखिइरहेको छ । विदेशी मुद्रा सञ्चिति उच्च छ । यसले वस्तुु तथा सेवा आयातका कुनै समस्या नरहेको देखाउँछ । वित्तीय क्षेत्र अधिक तरलताको अवस्थामा छ । ब्याजदर घटेको छ । मुद्रास्फीति लक्षित सीमाभित्रै छ । तर, आयात र निर्यात दुुवै घटिरहेको छ । सरकारी स्रोत (राजस्व) बढ्न सकेको छैन भने पुँजीगत खर्चको अवस्था कमजोर छ । जसको प्रभाव समग्र अर्थतन्त्र अर्थात् कुुल गार्हस्थ उत्पादन (जीडीपी) सोचेअनुरूप छैन । गत वर्षको जीडीपी ३.८७ प्रतिशत हुने अनुमान छ । निर्माण र उत्पादनमूलक क्षेत्र ऋणात्मक देखिएको छ । अघिल्लो वर्ष ऋणात्मक रहेको थोक र खुद्रा व्यापारमा गत वर्ष नगन्य अंकले सकारात्मक छ । अहिलेको अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या मागमा ज्यादै कमी छ । मागमा आएको कटौतीले बस्तुु आयात बढ्न नसकेको मात्र होइन आन्तरिक उद्योगहरू पनि ३०–४० प्रतिशत क्षमतामा चलिरहेका छन् ।

अर्थतन्त्र जबसम्म पूर्ण रूपमा चलायमान हुँदैन तबसम्म माग बढ्दैन । माग नबढेसम्म उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सक्दैनन् । तीन वर्षअघि अन्तर्राष्ट्रिय कारणले बढेको मुद्रास्फीतिलाई नियन्त्रण (कन्ट्रोल) गर्न ल्याइएका नियामकीय प्रावधानहरूको असर अहिलेसम्म अर्थतन्त्रमा देखिइरहेको हो । खासगरी त्यतिबेला मुख्यतः माग घटाउने र ब्याज बढाउने गरी ल्याइएका नियामकीय प्रावधानका कारण मागमा आएको गिरावट अहिलेसम्म पनि सुुधार (रिकभर) हुन सकिरहेको छैन ।

अहिले उद्योगीहरूले सामना गरिरहेको समस्यालाई नीति प्रेरित मन्दी (पोलिसी इन्ड्युस्ड स्लो डाउन) भन्न सकिन्छ । किनभने यसअवधिमा सरकार र नियामकहरूले एकैपटक सबै क्षेत्रमा कडाइ गर्ने (माग घटाउने, ब्याज बढाउने, घरजग्गा र सेयर कारोबारलाई संकुचित गर्ने) नीति अवलम्बन गरे । विदेशी मुद्रा सञ्चिति खुम्चिएको भन्दै आयात निरुत्साहित गरियो । एकैपटक अर्थतन्त्रका अवयवहरूलाई संकुचित गर्ने नीतिहरू लिँदाको असर अहिलेसम्म देखिएको छ ।

उद्योगी व्यवसायीहरू आफ्ना उद्योग÷व्यवसाय शतप्रतिशत क्षमतामा चलुुन्, नभए कम्तिमा ७०/८० प्रतिशतसम्म चलेर काम–कारोबार नियमित चलिरहोस् भन्ने चाहन्छन् । तर, अहिले व्यवसायीको अपेक्षाविपरीत औद्योगिक क्षमताको ३०/४० प्रतिशत मात्रै चलिराखेको छ । जति क्षमतामा चले पनि उद्योग खर्च करिब समान नै हुन्छ किनभने कर्मचारीलाई दिने तलब, बैंकलाई तिर्ने ब्याज, प्रशानिक खर्चदेखि अन्य सबै प्रकारका अधिकांश खर्चहरू एउटै हुुन्छ । यसबाट औद्योगिक लागत एउटै दरमा आउने तर, व्यावसायिक आम्दानी घट्दै जाने हुँदा उद्योगी÷व्यवसायीहरू उठ्नै नसक्ने अवस्थातर्फ उन्मुख छन् ।

उद्योग क्षेत्रमा लगानीको अवस्था
नेपाल उद्योग परिसंघ (सीएनआई) आफैंले बेलाबेला विभिन्न सर्वेक्षणहरू गर्न गर्दछ । गत वर्षकै चौथो त्रैमासमा पनि लगानी खासै बढेको अवस्था छैन । समग्र मागमा देखिएको कमी र उद्योगीहरूको बढ्दो खर्चका कारण उद्योग कसरी बचाउने, कसरी चलाउने भन्ने अवस्थामा पुुगेका कारण थप लगानीका विषयमा सोच्नुपर्ने बेला आएको छ । अर्थतन्त्र चलायमान भइरहँदा र व्यापार व्यवसाय ठीकठाक चलिरहँदा नयाँ अवसर खोज्ने गरिन्छ । तर, अहिले सबै क्षेत्र कुनै न कुनै समस्यामा परेको छ ।
अहिले सहकारी क्षेत्र समस्यामा छ । लघुवित्तको समस्या उस्तै छ । नियामकीय प्रावधानका कारण मानिसहरूको लगानी सहकारी, सेयर बजार र घरजग्गामा फसिरहेको छ । यसको असर आममानिसहरूमै खर्च गर्ने प्रवृत्ति कम भएको छ । भएको व्यवसाय नै कसरी जोगाउने भन्ने अहिले मुख्य चुुनौती देखिएको छ । बैंकको ब्याज तिर्न, कर्मचारीलाई तलब दिन गाह्रो भइरहेको अवस्थामा नयाँ लगानीबारे सोच्ने सम्भावनै कमै हुन्छ ।
उद्योग विभागका अनुसार पछिल्लो ४ महिनामा साना–ठूला ४ सय प्रतिष्ठान दर्ता भएका छन् । त्यसमा आठवटा मात्रै नयाँ ठुला उद्योग छन् भने बाँकी सबै साना एवं होटेल, रेस्टुरेन्टजस्ता व्यवसाय छन् । लगानीकर्ता वा निजी क्षेत्रमा आत्मविश्वास (कन्फिडेन्स) नभएका कारण यस्तो अवस्था आएको हो ।

विदेशी लगानी
थप विदेशी लगानी भित्र्याउन नेपालमा भएको लगानी संरक्षित हुनुुपर्छ । त्यसपछि मात्रै विदेशी लगानीको कुरा गर्दा राम्रो हुन्छ । विशिष्ट र सम्भावनायुक्त क्षेत्र भएकाले जलविद्युत्मा विदेशी लगानी आउँछ । स्थापित उद्योगहरू पूर्ण क्षमतामा नचलिरहेको र अरू थुप्रै सामाजिक प्रभावहरूका कारण जलविद्युत् बाहेकका उत्पादनशील क्षेत्रमा तत्काल विदेशी लगानी आउने सम्भावना कम छ । स्वदेश उद्योग खुल्ने र रोजगारी सिर्जना हुुने अवस्था नभएकैले धेरै युवाहरू रोजगारीका लागि विदेशिइरहेका छन् । यसो भनेर लगानी हुँदै–हुँदैन भन्ने होइन तर, नीतिगत सहुलियतसहित व्यावसायिक वातावरण बनेमा भने निश्चित क्षेत्रमा लगानी आउन सक्छ । त्यसका लागि पहिला कस्तो प्रोडक्ट (चिज) उत्पादन गर्न चाहिरहेको हो भन्ने सरकार प्रस्ट हुनुुपर्छ । सम्बन्धित उत्पादनमा आत्मनिर्भर भएर आयात प्रतिस्थापन गर्ने गरी सरकारबाटै नीति आउनुुपर्छ र आवश्यकताअनुरूप सहजीकरण गरिदिनुुपर्छ ।
२०४८ मा पहिलो चरणको सुधार (रिफर्म) गर्यो तर, दोस्रो चरणको सुुधार अझै भएको छैन । ३० वर्षदेखि एउटै आधारमा हिँडिरहेको अवस्था छ । सरकारले औद्योगिक नीति २०६७ लाई देखाएर आफूले काम गरेको र उद्यमीलाई सुविधा दिएको बताउने गर्छ । तर, समय र परिप्रेक्ष्य धेरै बदलिएकाले डेढ दशक पुरानोे औद्योगिक नीति काम नलाग्ने भइसकेको छ । पुराना ऐन, नियमावली, कार्यविधि, नीति र निर्देशनहरूका कारण नयाँ लगानी आउन समस्या छ । मुुलुुकले दोस्रो चरणको आर्थिक सुधार गर्ने भनेपछि दुनियाँ तेस्रो, चौथो चरणमा प्रवेश गरिसकेको छ । तर, नेपालले अझै दोस्रो चरणको आर्थिक सुधारको प्रक्रिया अघि बढाउन नसकिरहेको अवस्था छ ।

मुलुकमा आज पनि पचासौं वर्ष पुराना कानुनहरू क्रियाशील छन् । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा भएको २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन भन्ने व्यवस्थालाई देखाएर व्यवसायीलाई तर्साउने गरिन्छ । अब कसैले इन्नोभेसन गरेर, अनुसन्धान गरेर कुनै प्रोडक्ट डेभलप (उत्पादन विकास) गरेको छ भने उसलाई तोकेको भन्दा बढी लिन पाउँदैन भन्न त मिल्दैन नि । जस्तै एप्पल फोन बनाउने खर्च एक सय डलर मात्र लाग्छ होला र उसले एक हजार डलरमा बेच्न सक्छ । तर, नेपालमा इन्नोभेसन गर्न कानुनले नै रोकेको छ । पुराना धेरै कानुनहरूलाई समयसापेक्ष बनाइएको (संशोधन भएको) छैन । नेपाला धेरै वर्षदेखि बस्तुु आयात गर्ने र राजस्व प्राप्त गरी मुुलुक चलाउने रणनीतिअनुसार नीतिनियम बनाइएकाले उद्योग क्षेत्रमा थप लगानी आउन सकिरहेको छैन । सरकारले पहलकदमी लिएर नीतिगत सहजीकरण गर्ने हो भने थप रोजगारी सिर्जनाको आधार मात्र बन्दैन राजस्वको दिगोपना पनि हुन्छ । यसो हुुँदा अन्तर्राष्ट्रिय भूराजनीतिक कारणले आउने संकटबाट पनि बच्न सकिन्छ ।
सीएनआईले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल’ स्वदेशी अभियान चलाइरहेको छ तर, प्रभावकारी देखिइरहेको छैन । सरकारले स्वामित्व (ओनरसिप) लिए पनि गर्नुपर्ने नीतिगत काम नगरेको मात्र होइन आवश्यक बजेट व्यवस्था र प्रचारप्रसारमा पनि खासै धेरै सहयोग गरेको छैन । यस्तो हुुनुमा छिटोछिटो हुुने राजनीति परिवर्तन पनि एउटा कारण हो । कुनै नीतिगत सुधार गर्न चाह्यो भने पनि राजनीतिक अस्थिरता र असहयोग नीतिले कतिपय बेला सरकारलाई गाह्रो हुने अवस्था छ ।

लगानी नबढ्नुको दोष र समाधानका उपाय
उद्योग क्षेत्रमा लगानी नबढ्नुको दोषी कसलाई मान्ने ? सरकार दोषी भन्दा पनि कुन (कसको) सरकार भन्ने ? हरेक ६ महिनामा सरकार परिवर्तन भइरहेको छ । त्यसैले सबैभन्दा ठुलो समस्या विद्यमान पुराना ऐन, कानुनहरू हुन् । पुराना कानुनहरूलाई संशोधन गरेर लगानीमैत्री बनाउन सकियो भने लगानी आफैं आउँछ । उद्योगी÷व्यवसायीले जहाँ अवसर देख्छ, त्यहाँ लगानी गर्छ । पछिल्लो २/३ दशकको विकास हेर्ने हो भने शिक्षा, स्वास्थ्य, बैंकिङ, बिमालगायत क्षेत्रमा अवसर देखेपछि निजी क्षेत्रले लगानी गरेकै हो । अलिकति नीतिगत सहजता हुुनेबित्तिकै सिमेन्ट उद्योगमा निजी क्षेत्रले पर्याप्त लगानी गरेर मुुलुकलाई आत्मनिर्भर अवस्थामा पुु¥याएको मात्र छैन निकासी गर्नसमेत सफल भएको छ । जलविद्युत् क्षेत्रमा पर्याप्त लगानी गरेर निजी क्षेत्रले सरकारले भन्दा बढी विद्युत् उत्पादन गरिसकेको छ । पाइपलाइनका जलविद्युत् आयोजनामा निजी क्षेत्रको अझ बढी लगानी छ । निजी क्षेत्रले आफूले गर्न सक्ने काम गरेकै छ । पुराना नीतिगत तथा कानुनी समस्या हटाएर सरकारले उद्योगीलाई अवसर (अपरचुनिटी) देखाइदिने हो भने निजी क्षेत्रले मजाले लगानी गर्छन् ।
उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सीएनआईले पहल लिइरहेको छ । समस्याहरूको व्यापक अध्ययन गरी समाधान सूत्रसहितको एउटा खाका (रोडम्याप) सीएनआईले सरकारलाई बुझाएको छ । १९ वटा ऐन, नियममा संशोधन गर्न तीन महलेसहितको सुझाव सरकारलाई दिइएको छ । कुन ऐनको कुन दफा र कुन बुँदामा के संशोधन गर्ने, किन गर्ने र त्यसले पारेको असरसमेत केलाइएको छ । केही पुराना कानुनहरू खारेजै गर्नुपर्नेछ भने केही कानुन नयाँ ल्याउनै पर्नेछ ।

गत वैशाखमा भएको लगानी सम्मेलनका दौरान केही कानुनहरू संशोधन गरिए । तर, त्यो पर्याप्त छैन र अझै धेरै कानुनहरू संशोधन र नयाँ बनाउनुपर्ने आवश्यकता छ । पछिल्लो समय सरकारसँग विभिन्न चरणमा छलफल भइराख्दा सरकार अलि बढी सक्रिय भएको आभाष मिलेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विभिन्न ऐनहरू संशोधनका लागि छलफलहरू भइरहेका छन् र केही ऐनका मस्यौदा (ड्राफ्ट) तयार पनि भएको छ । केही नियमावलीहरूलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पुुगेको अवस्था छ । तर, प्रक्रिया (प्रोसेस) अलिकति लामो भएका कारण सतहमा परिणाम नदेखिएको चाहिँ हो । विदेशी लगानीकर्ताले उठाइरहेको बौद्धिक सम्पत्तिको अधिकार (इन्टेलेक्चुअल प्रोपर्टी राइट) सम्बन्धी ऐनको मस्यौदा तयार भएर प्रक्रिया अघि बढाइएको छ । त्यसबाहेक अरु केही कानुनहरू आवश्यक छ, त्यसमा पनि पर्याप्त छलफल गरी अघि बढ्न सकिन्छ ।
सरकार स्थिर रहँदा अघि बढेको प्रक्रियाले पूर्णता पाउने र लगानीमैत्री वातावरण बन्ने आधार तयार हुुन्छ । राजनीतिक दल, सांसदहरू र प्रशासन संयन्त्रमा पनि विस्तारै कानुन र प्रक्रियाका कमी–कमजोरी महसुस (रियलाइजेसन) हुन थालेको बुझ्न सकिन्छ । अर्थतन्त्र ठीक भएन भने अरू सबै कुरा केही काम लाग्दैन भन्ने महसुस चौतर्फी भएका कारण उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको प्रक्रिया अघि बढेको छ । निजी क्षेत्रले यो प्रक्रिया नबिथोलियोस् भन्ने कामना गरिरहेको छ ।

(उद्योगहरूको छाता संगठन सीएनआईका अध्यक्ष अग्रवालसँग शम्भु रेग्मीले गरेको कुराकानीमा आधारित)

यो लेख नेपाल आर्थिक पत्र संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र २०८१ बाट लिइएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स