असोज ३१ गते बस्दै यी चार कम्पनीको वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरू

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २९ गते
असोज ३१ गते बस्दै यी चार कम्पनीको वार्षिक साधारण सभा, यस्ता छन् प्रस्तावहरू

चार कम्पनीहरूको वार्षिक साधारण सभा पर्सी असोज ३१ गते शुक्रबार बस्ने भएको छ। नेपाल ल्यूब आयल लिमिटेड, ओरियन्टल होटल लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले उक्त मितिमा आफ्ना वार्षिक साधारण सभा गर्ने भएका हुन्।

नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा पर्सी असोज ३१ गते बिहान ११:३० बजे पुलचौकस्थित द प्लाज़ामा सुरू हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यससँगै २०० प्रतिशत हकप्रद सेयर निष्काशन, त्यसबाट प्राप्त रकमको उपयोग, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र सञ्चालकहरूको नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको छ। यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

ओरियन्टल होटल लिमिटेडको २८औं वार्षिक साधारण सभा पनि असोज ३१ गते शुक्रबार जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:३० बजे हुनेछ। सभाले हकप्रद सेयर निष्काशन गर्ने र सो रकम होटलको परिसर रिनोभेशनमा प्रयोग गर्ने, साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साथै, सभामा ६ जना सञ्चालकको निर्वाचन र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति पनि हुने छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ। यसअनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू सभामा सहभागी हुन योग्य छन्।

मञ्जुश्री फाइनान्स लिमिटेडको १८औं वार्षिक साधारण सभा पनि असोज ३१ गते हुने भएको छ। कम्पनीको सञ्चालक समितिको ३११औं बैठकले १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र रजिष्टर्ड कार्यालयको स्थान परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, अन्य बैंक वा वित्तीय संस्थासँग गाभ्ने/गाभिने  वा प्राप्ति  गर्ने तथा रणनीतिक साझेदारीमा जाने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गरेको छ। यसअनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले ९औं वार्षिक साधारण सभा असोज ३१ गते शुक्रबार  सुकेधारास्थित सेलिब्रेसन हाईट्समा बिहान ११ बजे सुरू हुनेछ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरिनेछ।

साथै, सभाले ४ जना सञ्चालकको निर्वाचन गर्नेछ, जसमा १ जना स्वतन्त्र र १ जना महिला सञ्चालक हुनेछन्। विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पारित गरिनेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २३ गते बुक क्लोज गरेको छ। जसअनुसार असोज २२  गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स