ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई हालको भन्दा कडा जरिवाना गर्ने गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइएको छ । प्रस्तावित नयाँ व्यवस्थाअनुसार ट्राफिक नियम उल्लंघन गरेमा न्यूनतम पाँच हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।
तर, यो व्यवस्था तत्काल लागू भइसकेको भने होइन । यातायात व्यवस्था विभागले तयार पारेको सवारी तथा यातायातसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
उक्त मस्यौदा हाल कानुन मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयको रायपछि मस्यौदा पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फर्किनेछ । त्यसपछि मन्त्रिपरिषद्बाट पास भएपछि संसद् सचिवालयमा दर्ता हुनेछ ।
मस्यौदामा कुन कसुरमा कति जरिवाना?
प्रस्तावित विधेयकमा विभिन्न ट्राफिक कसुरअनुसार फरक–फरक जरिवानाको व्यवस्था गरिएको छ ।
सवारीसाधन दर्ता गरिएको प्रयोजनभन्दा फरक प्रयोजनमा प्रयोग गरेमा दुईपांग्रे र तीनपांग्रे सवारीलाई पाँच हजार, साना तथा मझौला सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
चालक अनुमतिपत्र बिना सवारी चलाएमा, अनुमति नभएको वर्गको सवारी चलाएमा, लेन अनुशासन उल्लंघन गरेमा, फुटपाथमा सवारी चलाएमा, एकतर्फी सडकमा चलाएमा वा मोबाइल प्रयोग गर्दै सवारी चलाएमा १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
ट्राफिक संकेत पालना नगरेमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
सार्वजनिक सवारीमा यात्रुको सुरक्षामा असर पर्ने गरी सामान ढुवानी गरेमा वा प्रशिक्षार्थी चालकले प्रशिक्षकबिना सवारी चलाएमा तीन हजार रुपैयाँ जरिवाना हुने प्रस्ताव छ ।
दुर्घटनापछि चालक, सहचालक वा अन्य कर्मचारीले पालना गर्नुपर्ने दायित्व पूरा नगरेमा दुई हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।
निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपैयाँ, सडकमा फोहोर फालेमा एक हजार रुपैयाँ र आवश्यक कागजात साथमा नराखी सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ । विद्युतीय प्रणालीबाट कागजात देखाउन सकेमा भने जरिबाना नहुने व्यवस्था छ ।
ढोका खुला राखेर सवारी चलाएमा पाँच हजार रुपैयाँ र अवस्था ठीक नभएको सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
निषेधित क्षेत्र वा समयमा सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना हुने प्रस्ताव छ ।
सार्वजनिक सवारीले तोकिएको सिट क्षमतासम्म यात्रु लिन अस्वीकार गरेमा दुई हजार रुपैयाँ, मिटर ट्याक्सीले मिटरमा जान नमानेमा तीन हजार रुपैयाँ र दुईपांग्रे सवारीले अफलाइन सेवा दिएमा दुई हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
चालक तथा परिचालकले तोकिएको पोसाक र परिचयपत्र नलगाएमा पाँच सय रुपैयाँ र बाटो इजाजतपत्र बिना सवारी चलाएमा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
सवारी जाँचपास नगराई चलाएमा दुईपांग्रेलाई पाँच हजार, तीनपांग्रे तथा साना सवारीलाई १० हजार र मझौला तथा ठूला सवारीलाई १५ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
प्रदूषण परीक्षण प्रमाणपत्र नराखी सवारी चलाएमा पनि सवारीको प्रकारअनुसार पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यातायात सेवाको पञ्जीकरण नगरी सार्वजनिक यातायात सञ्चालन गरेमा १५ हजार रुपैयाँ र ट्राफिक संकेतमा अनधिकृत परिवर्तन गरेमा पाँच हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
सार्वजनिक सवारीमा भाडादर सूची नराखेमा वा तोकिएकोभन्दा बढी भाडा लिएमा फिर्ता रकमबाहेक दुईपांग्रे तथा तीनपांग्रे सवारीलाई दुई हजार, साना सवारीलाई पाँच हजार र मझौला तथा ठूला सवारीलाई १० हजार रुपैयाँ जरिबाना प्रस्ताव गरिएको छ ।
मापसेमा सबैभन्दा कडा जरिवाना
प्रस्तावित विधेयकमा मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी चलाउनेलाई सबैभन्दा कडा जरिवानाको व्यवस्था गरिएको छ ।
मस्यौदाअनुसार यस्तो कसुरमा दुईपांग्रे तथा तीनपांग्रे सवारीलाई २५ हजार रुपैयाँ, साना सवारीलाई ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

प्रतिकृया