भर्खरै ५ दिने भारत भ्रमण सकेर नेपाल फर्किएकी परराष्ट्रमन्त्री आरजु राणाको दिल्ली भेटले नेपाली राजनीतिमा हलचल मच्चाएको छ। परराष्ट्रमन्त्री राणालाई दिल्लीले दिएको उच्च महत्त्व र प्रधानमन्त्री ओलीलाई भारतले निमन्त्रणा नदिनुजस्ता घटनाले नेपालको राजनीतिक परिदृश्यमा गम्भीर असर पारेको छ।
पछिल्लो वर्ष नेपाली राजनीतिको चतुर खेलाडीको रूपमा उदाएकी परराष्ट्रमन्त्री राणालाई भारतले गरेको व्यवहारले नेपालभित्र नयाँ शंका उपशंका जन्माएको छ।
दिल्लीमा आरजुलाई दिइएको विशेष महत्त्व
भारतका विदेश सचिव विक्रम मिश्रीले गत साउन २७–२८ गतेसम्म नेपालको भ्रमण गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री आरजु राणालाई भारत भ्रमणको निम्तो दिएका थिए। त्यसपछि, गत आइतबार, परराष्ट्रमन्त्री राणा पाँचदिने भारत भ्रमणका लागि दिल्ली गइन्।
सोमबार, उनले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गरिन्, र त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरिन्। नेपालबाट मध्यम तहका अधिकारीहरूलाई साथमा लिएर दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाको मोदी सँगको भेटमा भारतीय पक्षबाट उच्च तहका पदाधिकारीहरू उपस्थित थिए। यी भेटवार्तालाई भारतले विशेष महत्त्वका रूपमा लिएको देखिन्छ। विगतमा सीमित मन्त्रीहरूले मात्र भारतीय प्रधानमन्त्रीसँग यस्ता उच्चस्तरीय भेटवार्ता गर्ने मौका पाएका थिए।
यता, परराष्ट्रमन्त्री राणाले बिहीबारको मन्त्रिपरिषद बैठकमा आफूसहित ६ जनाको प्रतिनिधिमण्डल प्रस्ताव गरेकी थिइन्। भारतले यो भ्रमण सामान्य रूपमा लिने आकलन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिमण्डलका ३ सदस्यको नाम हटाएका थिए।
ओलीले दुई पटक निम्तो पठाउँदा पनि भारतको मौनता
प्रधानमन्त्री ओलीले दुई पटक भारत भ्रमणको निम्तो पठाउँदा पनि भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा नपठाएका कारण ओली असन्तुष्ट देखिएका छन्। भारतीय विदेश सचिव विक्रम मिश्रीले भारतीय विदेशमन्त्रीले पठाएको परराष्ट्रमन्त्रीको भारत भ्रमणको निम्तो लिएर नेपाल आएका बेला भारतीय प्रधानमन्त्री मोदीले भने प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो पठाएनन् । त्यतिबेला प्रधानमन्त्री ओलीलेनै विदेश सचिव विक्रम मिश्री सँग भारत भ्रमणको निम्तो दिए पठाए।
परराष्ट्रमन्त्री राणाको मोदीसँगको भेटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्तो नदिएपछि राणाले प्रधानमन्त्री ओलीले पठाएको दोश्रो नेपाल भ्रमणको निम्तो मोदी समक्ष टक्र्याइन। दिल्लीले आरजु राणालाई उच्च महत्त्व दिँदा, प्रधानमन्त्री ओलीले बारम्बार निमन्त्रणा पठाउँदा पनि भारतले भ्रमणको निम्तो नपठाउँनुमा ओली असन्तुष्ट देखिन्छन्।
प्रचण्डको भविष्यबारे टिप्पणी र सरकारको कमजोर स्थिति
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा सम्बोधन गर्दै वर्तमान सरकार अगाडि नजाने संकेत देखिएको बताए। प्रचण्डको यो अभिव्यक्ति राजनीतिक रूपमा सामान्य देखिए पनि यसको गहिराइमा राजनीतिक महत्त्व छ।
माओवादीकै कारण एकसाथ आएका नेपाली कांग्रेस र एमालेबीच अहिले आआफ्ना घमण्डका कारण वैमनस्यता बढिरहेको देखिन्छ। आगामी चुनावसम्म साझेदारी गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका यी दुई ठूला दलले सरकार गठन भएको डेड महिनामा पनि न्यूनतम साझा कार्यक्रम ल्याउन सकेका छैनन्।
कोशी र गण्डकी प्रदेशमा सत्ता साझेदारीको संकट
कोशी प्रदेशमा सरकार मन्त्रालयको संख्या बढाए मात्रै नेपाली कांग्रेसलाई सरकारमा सामेल हुने अभिव्यक्ति दिएको छ। मन्त्रालयको भागबन्डा नपुगेर कोसीमा कांग्रेसले निउ खोजेझै यता गण्डकीमा एमाले सरकारमा सामेल भएको छैन । गण्डकी प्रदेशमा पनि सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ। कांग्रेस र एमालेबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहँदा सरकार गठनमा समस्या आएको छ।
ओली सामाजिक सञ्जालमा लोकप्रियता कमाउन व्यस्त, मन्त्रीहरूको तालमेल अभाव
प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा लोकप्रियता कमाउनमा केन्द्रित छन् भने कांग्रेसका मन्त्रीहरू आफ्नै तालमा काम गरिरहेका छन्। उदाहरणस्वरूप, शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कार्यालय जान छाडेपछि सामाजिक सञ्जालमा गृहमन्त्रीसँग सुरक्षा माग गर्दै पोस्ट गरिन् मन्त्रिपरिषदका सदस्यहरूले सामाजिक सञ्जाल मार्फत सुरक्षा मागेको यो पहिलो घटना थियो। यसले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरूलाई एकत्रित गर्न नसकेको र कांग्रेस एमालेका मन्त्रीबीच ट्युनिङ नमिलेको पो हो कि भन्ने संका उत्पन्न गरेको छ।
कांग्रेस नेता शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष शेरबहादुर देउवासँग प्रतिष्पर्धीसँग गठबन्धन गर्नाले पार्टीमा सम्भावित असहयोगका नतिजाबारे चेतावनी दिएका थिए। “गठवन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान भनी अड्कल काट्न चाहन्न । तर अहिले सरकारमा गएका हाम्रा साथीहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु ।”
प्रधानमन्त्री ओलीलाई भारतीय पक्षले निमन्त्रणा नदिँदा उत्पन्न असन्तोष, कांग्रेस र एमालेबीचको बढ्दो वैमनस्यता, र प्रचण्डको टिप्पणीले नेपाली राजनीतिमा नयाँ मोड ल्याउन सक्छ। आगामी दिनहरूमा यी घटनाहरूले कसरी प्रभाव पार्छन्, त्यो समयले नै देखाउनेछ।
















प्रतिकृया