८५ देशका पर्यटकले काठमाडौँ ओर्लने बित्तिकै खोजेपछि नेपाल आयो ‘उबर’

८५ देशका पर्यटकले काठमाडौँ ओर्लने बित्तिकै खोजेपछि नेपाल आयो ‘उबर’

विश्वव्यापी राइड–सेयरिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्दै देशलाई दक्षिण एसियाको उदीयमान डिजिटल बजार र बढ्दो पर्यटन गन्तव्यका रूपमा व्याख्या गरेको छ। कम्पनीले नेपालको आर्थिक तथा प्राविधिक रूपान्तरणसँगै यातायात सेवामा नयाँ अवसर देखेर यहाँ प्रवेश गरेको जनाएको छ।

उबरका एसिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरका अनुसार नेपाल तीव्र गतिमा डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको, सहरी क्षेत्र विस्तार भइरहेको र प्रविधिमैत्री उपभोक्ताको संख्या बढिरहेका कारण कम्पनीले यहाँ दीर्घकालीन सम्भावना देखेको हो।

नेपालमा सेवा सुरु भएसँगै उबरले चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार विभिन्न देशका अनुभवका आधारमा नेपाली बजारमा मोटरसाइकल सेवा सबैभन्दा तीव्र गतिमा विस्तार हुने खण्ड बन्न सक्ने सम्भावना छ।

कम्पनीका अनुसार नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग, डिजिटल भुक्तानी प्रणालीको विस्तार र सहरी यात्रु सेवाप्रतिको बढ्दो मागले बजार प्रवेशको निर्णयलाई बलियो बनाएको हो।

पर्यटन क्षेत्रलाई पनि कम्पनीले आफ्नो रणनीतिक अवसरका रूपमा लिएको छ। उबरका अनुसार पछिल्लो एक वर्षमा मात्रै ८५ भन्दा बढी देशबाट काठमाडौं आएका यात्रुले विमानस्थलमा अवतरण गरेपछि उबर एपमार्फत सेवा खोजेका थिए। विश्वका विभिन्न शहरमा उबर प्रयोग गरिसकेका यात्रु नेपाल आउँदा पनि सोही सेवा प्रयोग गर्न चाहने प्रवृत्तिलाई कम्पनीले बजार अवसरका रूपमा बुझेको छ।

नेपालमा सेवा सार्वजनिक हुनुअघि नै करिब दुई हजार चालकले प्लेटफर्ममा आबद्ध हुन दर्ता गरिसकेको कम्पनीको दाबी छ।

टेलरले आगामी वर्षहरूमा चालक, सवारीधनी तथा फ्लीट साझेदारमार्फत हजारौं व्यक्तिलाई आम्दानीका अवसर उपलब्ध गराउन सकिने विश्वास व्यक्त गरे। उनले नेपालमा कम्पनीको उपस्थितिलाई दीर्घकालीन योजना अन्तर्गतको लगानी भन्दै यहाँको गतिशील अर्थतन्त्रसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालमा सञ्चालनका लागि आवश्यक दर्ता तथा स्वीकृति प्रक्रियामा सरकारी निकायहरूसँग काम गरिरहेको उबरले जनाएको छ। कम्पनीले प्रक्रिया आगामी केही सातादेखि महिनाभित्र टुंगिने अपेक्षा गरेको बताएको छ।

विश्वव्यापी स्तरमा सञ्चालन अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय यात्रुको पहुँचलाई आधार बनाएर नेपाल प्रवेश गरेको उबरले आगामी दिनमा स्थानीय बजारको आवश्यकता अनुरूप सेवा विस्तार गर्ने जनाएको छ। यसको आगमनसँगै नेपालको राइड–सेयरिङ उद्योगमा प्रतिस्पर्धा बढ्नुका साथै डिजिटल यातायात सेवाको विकासले नयाँ आर्थिक गतिविधि र आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स