संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ। दूतावासले ‘एड्भाइजरी-२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको हो।
दूतावासका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल वा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने भएकाले सबैलाई सचेत रहन अनुरोध गरिएको छ। साथै, परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर पोस्ट गर्दा पनि जिम्मेवार बन्न अपिल गरिएको छ। यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी जारी गरिसकेको हुँदा नेपालीहरूले स्थानीय कानुनको पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहनु आवश्यक छ।
दूतावासले विकसित परिस्थितिबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक निकायका वेबसाइट र सूचनामार्फत अपडेट लिन सुझाव दिएको छ। यसअघि पनि दूतावासले पहिलो एड्भाइजरी जारी गर्दै अनावश्यक यात्रा नगर्न आग्रह गरिसकेको थियो।


प्रतिकृया