नेपाली फिल्मको प्रचार–प्रसारमा ‘साइबर सेना’ परिचालन भएको आरोप फेरि चर्चामा आएको छ । यसपटक निर्माता तथा कलाकार दीपकराज गिरी र निर्माता सन्तोष सेनबीच सामाजिक सञ्जाल फेसबुकमा वाकयुद्ध चलेको छ ।
मंगलबार बिहान गिरीले फेसबुकमा स्टाटस लेख्दै अरूको फिल्मलाई गाली गरेर आफ्नो फिल्म प्रमोसन नगर्न आग्रह गरेका थिए । उनले भनेका थिए, “आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गालि गर्न लगाउने काम बन्द गरौँ ! आफ्नो हिरो बाघ ! अरूको स्याल? याद गरौँ बाघ पनि जनावर नै हो !”
गिरीको यो स्टाटसपछि सेनले आफूलाई लक्षित गरिएको दाबी गर्दै लामो प्रतिक्रिया दिए । उनले ‘बलिदान’का पोस्टमा नकारात्मक कमेन्ट गराउने काम गिरीकै हो भन्ने प्रश्न उठाउँदै भने, “हाम्रो बलिदान को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो..?
तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो..। दर्शकको भावनामा चोट पुर्याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनी उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन..। कलाकार र सिर्जनाकर्ताहरू बीच प्रतिस्पर्धा हुनुपर्छ–तर त्यो सिर्जनामा, कामको गुणस्तरमा..।”
करिब डेढ घण्टापछि गिरीले पुनः अर्को स्टाटस गर्दै सेनप्रति व्यंग्य गरेका थिए । उनले लेखे, “चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त ब्यंग्य बुझ्छ, न बौद्धिकता थाहा छ, बुरूकबुरूक साँढे उफ्रेझैँ उफ्रिन्छ, माया लाग्छ !”
यसबीच, दशैँका लागि सिनेमाहलहरू नयाँ फिल्म प्रदर्शनको तयारीमा छन् । फूलपाती (असोज १३) का दिन मात्रै ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ रिलिज हुँदैछन् । गत वर्ष पनि फूलपातीकै दिन ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका थिए । त्यतिबेला पनि ‘छक्कापञ्जा ५’ विरुद्ध सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट भएको भन्दै गिरीले साइबर सेना परिचालन भएको आरोप लगाएका थिए ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया