लाभांश पारित गर्न नेशनल लाइफको साधारण सभा आज बस्दै, कति दिँदैछ लाभांश ?
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार ५ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा ३७औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभामा कम्पनीले हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँ) र ५ प्रतिशत बोनस सेयर (२६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत दरले ४ करोड ११ लाख ४८ हजार ४१८.७० रुपैयाँ लाभांशबाट समायोजन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
कम्पनीको हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ रहेको छ भने बोनस सेयर वितरणपछि चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ नाघ्नेछ। सभामा पूँजी वृद्धिसँगै प्रबन्धपत्र र नियमावली संशोधन, कम्पनी ऐन अनुसार आर्थिक वर्ष २०८०/८१ को खर्च अनुमोदन, नियामक निकायबाट आवश्यक निर्देशन आएमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावमाथि छलफल गरिनेछ।
त्यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ५ जना सञ्चालकको निर्वाचन गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिनेछ। कम्पनीले साधारणसभाका लागि जेठ २२ गते बुक क्लोज गरेको थियो, जसअनुसार सो दिनसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।