ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद शुल्क तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेकै कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँमा पुगेको छ। यस्तै, सञ्चालन मुनाफा १.७२ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ।
बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब २० करोड ३७ लाख बाट बढेर २ अर्ब ४३ करोड १ लाख पुगेको छ। यस्तै खराब कर्जा अनुपात ०.०५ प्रतिशतबिन्दुले बढेर ४.९१ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.५५ प्रतिशत रहेको छ भने आधार दर ५.१६ प्रतिशत रहेको छ। यता, बैंकको वितरणयोग्य नाफा घटेर २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २६ अर्ब २७ करोड ८ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १.०४ रुपैयाँले बढेर १७.०६ रुपैयाँमा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ।



















प्रतिकृया