बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, उत्पादन हामी किन्छौँ: पवन गोल्यान

बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, उत्पादन हामी किन्छौँ: पवन गोल्यान

नेपालमा बाँझो तथा प्रयोगविहीन उर्वर जमिनलाई उत्पादनशील बनाउने उद्देश्यसहित माटो नेपालले व्यावसायिक अम्बा खेती कार्यक्रम सार्वजनिक गरेको छ। गुणस्तरीय बिरुवा, प्राविधिक सहयोग र उत्पादनको शतप्रतिशत खरिद सुनिश्चितता (बाइ–ब्याक ग्यारेन्टी) सहित कम्पनीले किसान तथा जग्गाधनीलाई दीर्घकालीन आम्दानीको अवसर दिने जनाएको छ।

लामो समयदेखि कृषि क्षेत्रमा सक्रिय उद्योगपति तथा व्यवसायी पवनकुमार गोल्यानले देशभर रहेका खाली तथा प्रयोगविहीन जग्गामा व्यावसायिक अम्बा खेती विस्तार गर्ने लक्ष्यसहित यो योजना अघि सारेका हुन्। कम्पनीका सञ्चालक समेत रहेका गोल्यानले किसानले उत्पादन बिक्रीका लागि बजार खोज्दै भौतारिनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले उत्पादनको शतप्रतिशत खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।

कम्पनीका अनुसार नेपालमा हजारौं रोपनी उर्वर भूमि अझै पनि बाँझो वा न्यून उपयोगमा छ। यस्ता जमिनलाई आधुनिक प्रविधिमार्फत व्यावसायिक खेतीमा रूपान्तरण गर्न सकिए किसानको आय बढ्नुका साथै कृषि उत्पादन, रोजगारी र ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

माटो नेपालले उच्च गुणस्तरीय अम्बाका बिरुवा उपलब्ध गराउने, वैज्ञानिक विधिबाट बगैंचा स्थापना गर्ने, ड्रिप सिँचाइ प्रणाली जडानमा सहयोग गर्ने, रोपाइँदेखि उत्पादनसम्म प्राविधिक परामर्श र तालिम उपलब्ध गराउने तथा उत्पादनको सम्पूर्ण बजार व्यवस्थापन गर्ने जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रक्षेपणअनुसार १ बिघा जमिनमा करिब १ हजार ४० वटा अम्बाका बिरुवा रोप्न सकिन्छ। पहिलो वर्ष बगैंचा स्थापना, ड्रिप सिँचाइ तथा अन्य पूर्वाधारका लागि करिब ३ लाख ७९ हजार ६५० रुपैयाँ लगानी आवश्यक पर्ने उल्लेख गरिएको छ।

दोस्रो वर्षदेखि उत्पादन सुरु हुने अनुमान गरिएको छ। दोस्रो वर्ष करिब ५ हजार केजी उत्पादनबाट २ लाख ५० हजार रुपैयाँ बिक्री भई करिब १ लाख १६ हजार २०० रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ। तेस्रो वर्ष उत्पादन २० हजार केजी पुगेर १० लाख रुपैयाँ बिक्री तथा ५ लाख ९४ हजार २०० रुपैयाँ नाफा हुने, चौथो वर्ष ३० हजार केजी उत्पादनबाट १५ लाख रुपैयाँ बिक्री र ८ लाख ८६ हजार ५०० रुपैयाँ नाफा हुने तथा पाँचौं वर्ष ५० हजार केजी उत्पादनबाट २५ लाख रुपैयाँ बिक्री भई करिब १५ लाख रुपैयाँ नाफा हुने कम्पनीको अनुमान छ।

माटो नेपालका अनुसार पाँच वर्षको अवधिमा १ बिघा जमिनबाट कुल ५२ लाख ५० हजार रुपैयाँ बराबरको अम्बा बिक्री हुन सक्छ। यस अवधिमा कुल लगानी करिब २५ लाख ३२ हजार ८५० रुपैयाँ हुने र करिब ३० लाख ९६ हजार ८०० रुपैयाँ नाफा आर्जन गर्न सकिने प्रक्षेपण गरिएको छ।

कम्पनीले भने यो वित्तीय प्रक्षेपण उचित खेती व्यवस्थापन, मौसम तथा उत्पादनको अवस्थाका आधारमा तयार गरिएको अनुमान मात्र भएकाले वास्तविक उत्पादन, आम्दानी र नाफामा केही फरक पर्न सक्ने स्पष्ट पारेको छ।

गोल्यानले आफ्नो उद्देश्य केवल अम्बा खेती विस्तार गर्नु मात्र नभई नेपालको कुनै पनि उर्वर भूमि बाँझो नरहोस् र किसानले उत्पादन बिक्रीका लागि बजारको अभाव झेल्न नपरोस् भन्ने रहेको बताएका छन्। उनले व्यावसायिक अम्बा खेती गर्न इच्छुक किसान तथा जग्गाधनीलाई माटो नेपालमा सम्पर्क गरी विस्तृत जानकारी लिन आग्रह गरेका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स