यी समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम, सावाँ-ब्याज नतिरे घरजग्गा लिलाम हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १३ गते
यी समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम, सावाँ-ब्याज नतिरे घरजग्गा लिलाम हुने

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम अल्टिमेटम दिएको छ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ले सूचना जारी गर्दै ऋणीहरूलाई सावाँ, ब्याज र हर्जाना सहितको बाँकी रकम १५ दिनभित्र तिर्न आग्रह गरेको हो।

समितिका अनुसार पटक–पटक फोन, वेबसाइट र राष्ट्रिय दैनिक पत्रिकामार्फत जानकारी गराउँदा पनि ऋण चुक्ता नभएपछि अन्तिम समयसीमा तोकिएको हो।

प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरूमा सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था रहेका छन्। यी सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ।

सूचनाअनुसार १५ दिनभित्र ऋण नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरिनेछ। साथै ऋणी, उनका परिवार र जमानीकर्ताको सम्पत्ति तथा बैंक खाता रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाइनेछ। धितोमा रहेको सम्पत्ति प्रदेश सहकारी ऐन २०७६ र नियमावली २०७६ अनुसार लिलाम बिक्री गरी ऋण असुल गरिने पनि उल्लेख छ।

समितिले ऋण तिर्न इच्छुक ऋणीहरूलाई काठमाडौँ अनामनगरस्थित कार्यालयमा सम्पर्क गरी हरहिसाब मिलान गर्न आग्रह गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स