ब्ल्याक मन्डे: अमेरिकी सेयरबजारको कालो दिन र वाल स्ट्रिटमा साँढेको आगमन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
ब्ल्याक मन्डे: अमेरिकी सेयरबजारको कालो दिन र वाल स्ट्रिटमा साँढेको आगमन

सन् १९८७ को अक्टोबर १९, जुन ‘ब्ल्याक मन्डे’ भनेर चिनिन्छ, विश्व बजारको इतिहासमा एक कालो दिनको रूपमा चिनिन्छ । यस दिन, अमेरिकी सेयरबजार परिसूचक डाउ जोन्स इन्डस्ट्रियल एभरेज (DJIA) मा २२.६ प्रतिशतको ठूलो गिरावट सामना गर्यो। अमेरिकामा मात्रै नभएर हङकङ, लन्डन, र अन्य देशका सेयरबजारहरूमा समेत यस गिरावटको गहिरो प्रभाव पर्यो। यस घटनाले विश्वभरका लगानीकर्ता र नियामक निकायहरूलाई वित्तीय बजारको अस्थिरतासँग जुध्न नयाँ उपायहरूको खोज गर्न बाध्य बनायो।

सन् १९८० को दशकको मध्यतिर अमेरिकी सेयरबजार निकै उत्साही स्थितिमा थियो। ठूला कम्पनीहरूले लाभांश वितरण, ब्याजदरमा कटौती, र आर्थिक स्थिरता जस्ता कारणले बजारलाई निरन्तर उकालो लगाइरहेका थिए। तर १९८७ को मध्यतिर बजारमा बेचैनीको संकेत देखिन थाल्यो। मुद्रास्फीति बढ्न थालेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि गर्ने निर्णय गर्‍यो। व्यापार घाटाको समस्या र डलरको अवमूल्यनको चिन्ताले पनि लगानीकर्ताहरूलाई प्रभाब पार्यो। त्यसैगरी, युरोप र मध्यपूर्वको राजनीतिक र आर्थिक बिचलनले समेत अस्थिरताको वातावरण सिर्जना गरिरहेको थियो।

अक्टोबर १४ बाट सेयरबजारमा हलचल सुरु भएको थियो।सो दिन डाउ जोन्सले ९५ अङ्कको गिरावट भोग्यो र त्यसपछि निरन्तर गिरावट देखियो। अन्ततः अक्टोबर १९ मा डाउ जोन्सले एकै दिनमा ५०८ अङ्कको भारी गिरावट सामना गर्‍यो। विभिन्न प्राविधिक समस्याहरू, अनियमित कम्प्युटर ट्रेडिङ र लगानीकर्ताहरूको डरले भरिएको मनोविज्ञानका कारण यस दिनलाई ‘ब्ल्याक मन्डे’ को रूपमा चिनिन थाल्यो।

ब्ल्याक मन्डेमा थुप्रै लगानीकर्ताका जीवनभरको बचत केही घण्टामै सकियो। यो घटनाले विश्वभरका बजारहरूमा अस्थिरता थपिदियो। हङकङमा ४५% को गिरावट आयो भने लन्डनको एफटीएसई १०० मा पनि करिब १०% को गिरावट देखियो।

ब्ल्याक मन्डेको मुख्य कारण कम्प्युटर प्रणालीबाट हुने ‘प्रोग्राम ट्रेडिङ’ थियो। स्वचालित कारोबार प्रणालीले ठूलो संख्यामा सेयर बिक्री गर्न थालेपछि बजार अझै तीव्र गतिमा ओरालो लाग्यो। बजारमा एकपटक गिरावट सुरु भएपछिको स्वचालित सेयर बिक्रीले थप गिरावट निम्त्यायो।

ब्ल्याक मन्डेपछि अमेरिकी अर्थतन्त्रमा ठूलो संकट आउने डर थियो। तर, फेडरल रिजर्भका अध्यक्ष एलन ग्रिन्सप्यानले तुरुन्तै ब्याजदर घटाउने र बजारमा तरलता बढाउने घोषणा गरे, जसले लगानीकर्तालाई राहत दियो। भविष्यमा यस्ता घटनाबाट बच्नका लागि “सर्किट ब्रेकर” जस्ता उपकरणहरू प्रयोगमा ल्याइए, जसले अत्यधिक बजार गिरावटका समयमा कारोबारलाई रोक्न सघायो। यसले लगानीकर्ताहरूलाई अस्थिरतामा पनि केही सुरक्षा दिन सफल भयो।

यस घटना पछि इटालियन मूर्तिकार आर्टुरो दी मोडिकाले सन् १९८९ मा चार्जिङ बुल” बनाएका थिए। उनले यसलाई व्यक्तिगत लगानीबाट निर्माण गरेर क्रिसमसको उपहारको रूपमा न्यूयोर्कलाई दिएका थिए। यो मूर्तिले बजारको उज्ज्वल भविष्य र सुधारको संकेत दिएर लगानीकर्ताहरूमा पुनः आत्मविश्वास जागृत गराएको थियो। 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स