युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने, बनायो सेयरधनीको हात खाली

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने, बनायो सेयरधनीको हात खाली

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले नगद तथा बोनस सेयर दुबै वितरण नगर्ने निर्णय सर्वसम्मतिले गरेको हो।

बैठकले पछिल्ला चार वर्षदेखि देशभर निरन्तर देखिँदै आएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको छ। यसले ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर बनाएको र कर्जा असुलीमा गम्भीर समस्या सिर्जना भएको संस्थाले जनाएको छ।

त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको उल्लेख गरिएको छ। युवा विदेश पलायन र समग्र आर्थिक मन्दीको प्रभावले कर्जा लगानी विस्तार हुन नसक्दा संस्थाको निष्क्रिय कर्जा बढेको र आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थापनमा खर्चिनु परेको बोर्डको ठहर छ। यसका कारण मुनाफा घट्नुका साथै नगद प्रवाहमा समेत नकारात्मक असर परेको छ।

यस्ता चुनौतीपूर्ण परिस्थितिमा सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना भए तापनि, वर्तमान अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै संस्थालाई सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा वितरण योग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय गरिएको संस्थाले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स