कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालीमाटी बजार परिसरमा रहेको सटर भाडामा सञ्चालन गर्न बोलपत्र आह्वान गरेको छ।
समितिले गोरखापत्र दैनिकमा असोज १ गते दोस्रो पटक प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले २१औँ दिनभित्र समितिको कालीमाटी वा बालाजुस्थित कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन्।
बोलपत्र फारामका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। खरिद गरिएको बोलपत्र २२औँ दिनको दिउँसो १२ बजेसम्म शिलबन्दी गरी पेश गर्नुपर्नेछ।
समितिका अनुसार कालीमाटी बजार हाताभित्रको सटर नम्बर १० तरकारी, फलफूल तथा अन्य कृषि वस्तुको कारोबार सञ्चालनका लागि भाडामा दिइनेछ। उक्त सटरको क्षेत्रफल १५६ वर्गफिट रहेको छ।
सटरका लागि ५० हजार रुपैयाँ धरौटी तोकिएको छ भने सम्झौता अवधि ५ वर्ष रहनेछ। घरबहाल करसहित यसको मासिक न्यूनतम भाडा १ लाख ४८ हजार ८५२ रुपैयाँ तोकिएको छ।
बोलपत्रसम्बन्धी विस्तृत विवरण समितिको वेबसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ।


प्रतिकृया