गुल्मीको रेसुंगा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले बिहीबार नियमित उडान तालिका परिवर्तन गरेको हो।
यसअघि निगमले आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। अब केवल आइतबार, मंगलबार र शनिबारमात्र उडान हुने रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापा ले जानकारी दिए।
उनका अनुसार निगमसँग हाल तीन मात्र ट्विनअटर जहाज रहेको छ र समय–समयमा मर्मत गर्नुपर्ने भएकाले जहाज अभावका कारण केही समयका लागि नियमित तालिकामा परिवर्तन गरिएको हो। वर्षात, खराब मौसम र बाक्लो हुस्सु बाहेक पछिल्लो तीन महिनादेखि रेसुंगा विमानस्थलमा नियमित उडान हुँदै आएको थियो।
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौंबाट बिहान ६:३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७:३० बजे उडान गर्दै आएको छ। काठमाडौंबाट गुल्मीको टिकट भाडा ७ हजार ५०० र गुल्मीदेखि काठमाडौंबाट ७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। बिहान मात्र उडान हुने मुख्य कारण दिउँसो अत्यधिक हावाको चाप हुनु हो।
पछिल्लो समय हवाई सेवा लिने यात्रुको चाप बढ्दै गएको छ। तर उडान सङ्ख्या कम र तालिकामा समय–समयमा परिवर्तन हुने भएकाले यात्रुहरू समस्यामा परेका छन्। नेपाल वायुसेवा निगमले जिल्लामा व्यावसायिक हवाई सेवा २०८० वैशाख २९ गतेदेखि सुरु गरेको थियो।
















प्रतिकृया