वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल



वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढे सँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ ।

वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलता लगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ ।

यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो ।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्र बाट प्राप्त तथ्याङ्कले देखाएको छ । यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्रता र सुक्खा मौसम जस्ता प्राकृतिक कारण बाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुँवा धुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ ।

हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले जनधनको क्षतिका विवरण प्राप्त भइरहेका विभागले जनाएको छ ।

भू–उपग्रहको तथ्याङ्क विश्लेषण बाट प्राप्त विवरण बमोजिम सन् २०२४ को सुरुआत देखि हाल सम्म एक हजार ६५३ डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढे सँगै नेपालको अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ ।

प्रदूषण बढी भएका स्थानमा घर बाहिर निस्कदा सबै नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न तथा वायु प्रदूषण बढाउने किसिमका क्रियाकलाप जस्तै फोहर बाल्ने, कृषिजन्य अवशेष बाल्ने लगायतका क्रियाकलाप नगर्न समेत विभागको अनुरोध छ । सानो लापर्वाहीका कारण वन डढेलोले ठूलो क्षति पुर्याउन सक्ने भएकाले सचेत हुनका साथै वन डढेलो नियन्त्रणका लागि जिम्मेवार निकायले सक्रियता बढाउन तथा सरोकार वाला निकाय सँग हातेमालो समेत गर्नुहुन आम समुदायलाई विभागले अपिल गरेको छ ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad