क्लासिक टेकको आम्दानी घट्यो, एक बर्षमा कमायो ९२ करोड १० लाख

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
क्लासिक टेकको आम्दानी घट्यो, एक बर्षमा कमायो ९२ करोड १० लाख

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले सन् २०२४ मा ९२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.१५ प्रतिशतले कम हो। सन् २०२३ मा कम्पनीको आम्दानी ९५ करोड १० लाख रुपैयाँ कमाएको थियो। यस सन् २०२२ मा यो आँकडा ८७ करोड २० लाख रुपैयाँ रहेको केयर रेटिङ्सले जनाएको छ। 

कम्पनीको नाफा मार्जिन (PBILDT) मा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२२ मा यो १९.३१% थियो, जुन आर्थिक वर्ष २०२३ मा २१.६६% पुगेको थियो। सन् २०२४ मा भने यो अझ सुधार भएर २८.२६% पुगेको छ। ब्यान्डविथ लागतमा गरिएको कटौती र केही सञ्चालन खर्च घटाएपछि नाफा मार्जिनमा सुधार आएको हो।

केयर रेटिङ्स नेपाल लिमिटेडले क्लासिक टेक प्रालिको क्रेडिट रेटिङ फेरि मूल्यांकन गर्दै यसको दीर्घकालीन बैंक ऋणको रेटिङ घटाएको छ। दीर्घकालीन ऋणको रेटिङ ‘CARE-NP BB-’ बाट घटाएर ‘CARE-NP B’ गरिएको छ भने छोटो समयका लागि लिइएका ऋणको रेटिङ ‘CARE-NP A4’ नै राखिएको छ। यसका लागि आवश्यक कागजात उपलब्ध गराएपछि यो संशोधन गरिएको हो। यसअघि कम्पनीलाई ‘Issuer Not Cooperating’ भनेर सूचीमा राखिएको थियो।

क्लासिक टेक अहिले नेपालको इन्टरनेट सेवा प्रदायक (ISP) कम्पनीहरूमध्ये सातौं स्थानमा रहेको छ र यसको बजार हिस्सा ५.७७% छ। इन्टरनेट सेवा प्रदायक बजारमा अत्यधिक प्रतिस्पर्धा रहेको हुँदा कम्पनीले ग्राहक संख्या बढाउन कठिनाइ भोगिरहेको छ। ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दा मूल्य घटाउने दबाब छ, जसले आम्दानीमा प्रतिकूल असर पारेको छ।

कम्पनीले खर्च कटौती गर्नका लागि केही कदम चालेको छ। विशेष गरी, ब्यान्डविथ लागत घटाएपछि मुनाफा केही सुधार भएको हो। अनुभवी व्यवस्थापन टोली, नेपालभर ७५ जिल्लामा सेवा विस्तार भएको तथा कम्पनीको ऋण रकम धेरै ठूलो नभएकोले भविष्यमा केही सुधारको सम्भावना रहेको बताइएको छ।

क्लासिक टेकको स्थापना सन् २००९ मा ‘जिरो पोइन्ट रेमिट’ का रूपमा भएको थियो। पछि सन् २०१० मा इन्टरनेट सेवा प्रदायकका रूपमा रूपान्तरण भई सन् २०१४ मा नेटवर्क सेवा प्रदायकको रूपमा विस्तार गरेको कम्पनीले एफटीटीएच प्रविधि प्रयोग गरी फाइबर अप्टिकल इन्टरनेट प्रदान गरिरहेको छ। 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स