अरूको नाममा रहेको सिम अब घरमै बसेर अनलाइनबाट आफ्नो नाममा सार्न सकिने
१नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ताका लागि सिम कार्डको स्वामित्व आफ्नै नाममा अद्यावधिक गर्न मिल्ने अनलाइन केवाईसी सेवा सुरु गरेको छ। लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गरिरहेका वा व्यक्तिगत विवरण अद्यावधिक गर्न बाँकी रहेका ग्राहकलाई लक्षित गर्दै यो सुविधा ल्याइएको टेलिकमले जनाएको छ। यसका लागि ग्राहकहरूले corporate.ntc.net.np मा गएर अनलाइन फारम भरेर घरबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्।
अनलाइन केवाईसी अद्यावधिक वा सिम स्वामित्व दाबीका लागि केही कागजात तथा विवरण अनिवार्य गरिएको छ। त्यसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रयोगमा रहेको सिमबाट हालै सम्पर्क भएका पाँचवटा मोबाइल नम्बरको जानकारी र हालसालै खिचिएको डिजिटल फोटो समावेश गर्नुपर्नेछ।
कसरी गर्ने अनलाइन अपडेट?
चरण १: वेबसाइट खोल्नुहोस्
आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजरमा जानुहोस् र नेपाल टेलिकमको यो वेबसाइट खोल्नुहोस्: corporate.ntc.net.np
चरण २: लगइन (Login) गर्नुहोस्
१. बक्समा आफ्नो १० अङ्कको मोबाइल नम्बर राख्नुहोस्।
२. त्यहाँ देखिएको तस्बिरको अक्षर (Captcha) जस्ताको तस्तै टाइप गर्नुहोस्।
३. ‘Generate OTP’ बटन थिच्नुहोस्।
४. मोबाइलको म्यासेजमा आएको ६ अङ्कको कोड बक्समा राख्नुहोस्।
५. ‘Validate & Login’ मा क्लिक गर्नुहोस्।
चरण ३: व्यक्तिगत विवरण भर्ने
फारम खुलेपछि मागिएका विवरणहरू भर्नुहोस्:
- नाम: नागरिकतामा भए अनुसार नाम लेख्नुहोस्।
- बुबा, आमा र बाजेको नाम: अनिवार्य रूपमा भर्नुहोस्।
- जन्म मिति र लिङ्ग
- ठेगाना: आफ्नो जिल्ला, पालिका र वडा नम्बर छान्नुहोस्।
- नागरिकता/पासपोर्ट को विवरण भर्नुहोस्।
चरण ४: कल विवरण (Call History)
यस खण्डमा यो सिम तपाईँकै हो भनेर चिनाउनको लागि:
- पछिल्ला ३ दिनभित्र तपाईंले आफ्नै मोबाइल नम्बरबाट फोन गरेका सही नम्बरहरू लेख्नुहोस्। सकेसम्म हालसालै फोन गरेका ५ वटा मोबाइल नम्बरहरू भर्नुहोस्।
- (नोट: आफूलाई फोन आएको नम्बर वा १४१५ जस्ता नम्बर नराख्नुहोला, आफूले कल गरेको नम्बर मात्र राख्नुहोस्।)

चरण ५ : कागजात अपलोड गर्ने
- कागजातको फोटो: नागरिकताको अगाडि र पछाडिको भाग एउटै फाइलमा वा प्रष्ट देखिने गरी अपलोड गर्नुहोस्। (साइज १ एमबी भन्दा कम हुनुपर्छ।)
- साथै, यो नम्बर तपाईंको नै हो भन्ने प्रमाणका लागि बैंकको पत्र, वा अन्य सम्बन्धित पत्र/कागजात अपलोड गर्नु पर्नेछ।

कागजात अपलोड गरिसकेपछि Next ID Photo मा Click गर्नुहोस्।
चरण ६: क्यामेराबाट फोटो खिच्ने
वेबसाइटमा विवरण भरी कागजात अपलोड गरेपछि, आफ्नो परिचयपत्र हातमा लिएर क्यामेराबाटै लाइभ फोटो (Live Photo) खिची Submit गर्नुहोस् ।

चरण ७: फारम बुझाउने (Submit)
१. भरेका सबै विवरण एकपटक राम्रोसँग जाँच गर्नुहोस्।
२. सबै ठीक छ भने तलको बक्समा टिक (✓) लगाउनुहोस्।
३. ‘Submit Application’ बटनमा क्लिक गर्नुहोस्।
अन्तिममा
अनलाइनबाट Submit गरेपछि, तपाईँलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा गएर एकपटक भेरिफाई (रुजु) गराउनुपर्छ। त्यसपछि तपाईँको KYC अपडेट हुनेछ।

***अपडेट नोट : समाचारमा KYC अपडेट प्रक्रिया थपिएको छ।***






You must be logged in to post a comment.