राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजी गर्न आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्ने कटिबद्ध रहेको विश्वास व्यक्त गरेका छन्।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्। उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ट साझेदारी निर्माण गर्न चाहन्छ भन्ने बताएका छन्।
“हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियासहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ। नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ,” राष्ट्रपति पौडेलले बताएका छन्। उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण भएको पनि बताए।
राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने, “गौतमबुद्धले भनेका थिए– शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन।”
उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरेका छन्। “नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ,” उनले भनेका छन्। “नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ। आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिताले नेपाल र जापानबीच तीव्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न मद्दत पुग्ने मेरो विश्वास छ।”
दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औँ वार्षिकोत्सव भएको र हाम्रा सम्बन्धहरू सरकारी मात्र नभई जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा दशकौँदेखि जापानले गरेको सहयोगको राष्ट्रपति पौडेलले उच्च प्रशंसा गरेका छन्।
राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको बताए। साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने र २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने पनि उनले बताएका छन्।
“यस्तो अभियानमा ठूलो स्रोतसाधन आवश्यक पर्छ। अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्नेमा ध्यान केन्द्रित गरिएको छ,” राष्ट्रपति पौडेलले बताए। उनले वर्तमान समयमा आन्तरिक रूपमा सरकार र निजी क्षेत्रले हातेमालो नगरी, बाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे।
उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तन प्रवर्द्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको पनि उनले बताए।
“नेपाल लगानी बोर्डले ठूला लगानीकर्तालाई एकद्वार सेवा प्रदान गर्छ। अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंक र प्रमुख अन्तरराष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले स्वतन्त्र मूल्याङ्कनमार्फत नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूलमध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्,” राष्ट्रपति पौडेलले बताए। विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्तालाई बृहत्तर फाइदा दिने उनले विश्वास व्यक्त गरे।
सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राखेका थिए। कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरूले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।
















प्रतिकृया