राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका छन्। भ्रमण पूरा गरी उनि यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कने पनि सचिव राईले बताएका छन्।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले पनि भेटवार्ता गर्ने परराष्ट्र सचिव राईले जानकारी दिएका छन्।
राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन्। भ्रमणको क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागी हुनेछन् र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उपस्थित हुने मन्त्रालयले जनाएको छ।
राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सविता पौडेल र उच्चस्तरीय सरकारी अधिकारीहरू पनि रहनेछन्।

















प्रतिकृया