लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन। सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतसँगको आज विहान भएको ‘साइडलाइन’ बैठकमा उनले सम्मेलन सफल भएको बताएका हुन् ।
उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट मध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए ।
बैठकमा विकास साझेदारसँगको सहकार्यलाई आगामी दिनमा थप सुमधर बनाइने मन्त्री पुनले प्रतिबद्धता जनाए । “जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरुको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ”, मन्त्री पुनले भने, “नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौँ ।”
सम्मेलनको उद्घाटन सत्रमा सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिङ्गो देश एकढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएकामा उनले खुसी व्यक्त गरे । नेपालको विकास प्रयासमा साथ दिन विकास साझेदारका तर्फबाट सम्मेलनमा भएको उपस्थिति र प्रतिबद्धताका लागि उनले धन्यवाद दिए ।
“उद्घाटन सत्रमा प्रतिपक्षी दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, विपक्षी लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाबाट नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सुन्न पायौँ”, उनले भने, “त्यो समर्थनका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु र भन्न चाहन्छु कि वास्तबमै यो हाम्रो सामूहिक शक्ति हो ।”
उनले लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजनामा विकास साझेदार र लगानीकर्ताको राम्रो आकर्षण देखिएकामा खुसी व्यक्त गरे । मन्त्री पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धताअनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत नौ वटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास बढेको अनुभूति भएको उल्लेख गरे ।