निरन्तरको प्रयासपछि किमाथाङ्का नाका खुल्दै, सीमावर्ती क्षेत्रका बासिन्दको जनजीवन सहज हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ११ गते
निरन्तरको प्रयासपछि किमाथाङ्का नाका खुल्दै, सीमावर्ती क्षेत्रका बासिन्दको जनजीवन सहज हुने

नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आउँदै छ । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आउन लागेको हो ।

चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङ्का नाका बन्द गरेको थियो । नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत नाका खुलाउने समझदारी भएको थियो ।

रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन् । अन्य नाका सञ्चालनको तयारी भइरहेका छन् । किमाथाङ्का नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन ।

उपप्रधानमन्त्री श्रेष्ठले शनिबार एक समारोहकाबीच सङ्खुवासभास्थित किमाथाङ्का नाका पुनःसञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ ।

नाका सञ्चालनका लागि उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथाङ्का नाका जाने कार्यक्रम तय भएको छ । किमाथाङ्का नाकास्थित चिनियाँ भन्सार कार्यालयमा नाका पुनः सञ्चालन घोषणाका लागि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।

कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए । भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स