instainsta

जोखिम नमोली परिणाम प्राप्त हुँदैनः अर्थमन्त्री पुन

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २० गते
जोखिम नमोली परिणाम प्राप्त हुँदैनः अर्थमन्त्री पुन
AdvertisementAds

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समय सापेक्ष बनाउनका लागि पूर्व प्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताएका छन् |

मन्त्री पुनले पूर्व अर्थ सचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष सँग बजेटका सन्दर्भमा सुझाव लिएका उनको सचिवालयले जनाएको छ । पुनले आर्थिक शिथिलता बाट मुलुकलाई कसरी माथि उठाउने भन्ने बारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको रहेको बताए ।

“आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिङ्गो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो”, मन्त्री पुनले भने। उनले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताए ।

उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा ताल मेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे । अर्थतन्त्रमा सङ्कट हुँदा गरिएका कडाइहरूमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंक सँग छलफल भइरहेको जानकारी दिए ।

निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो । “निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ”, उनले भने, “राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।”

मन्त्री पुनले काम गर्नेले सबैतिर जवाफ दिनुपर्ने र कामै गर्नेहरु लोकप्रिय हुने अवस्था आउनु चिन्ताजनक भएको बताए । काम गर्दा असल नियत राखेको होला वा विवेक प्रयोग गरेको होला भन्ने बाट भन्दा फट्याइँ गरेको होला भन्ने कोणबाट सोच्ने प्रवृत्ति समाजमा संस्थागत हुन खोजेको उनले स्पष्ट पारे ।

“कसैले न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैन । राजनीतिक वा प्रशासनिक नेतृत्वमा बस्नेहरु जसले काम गर्दैन त्यो ठीक र लोकप्रिय, जसले काम गर्यो त्यसले जवाफ दिनुपर्ने जस्तो सोच समाजमा हाबी हुन थालेको छ”, उनले भने, “काम गर्दा मानिसले विवेक प्रयोग गर्छ, असल नियतले गर्छ भन्ने पनि सोच्नुपर्छ । सबैतिर अविश्वासको वातावरण छ । सबै लोक रिझ्याइँको पछि लागेर हुँदैन । मुलुक बनाउने हो भने यो अवस्था हटाउनुपर्छ ।”

मन्त्री पुनले उच्च स्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेट मार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गरे । सरकारले लगानी सम्मेलनमा अध्यादेश मार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत रहेको बताए । “लगानी गर्ने, रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो”, उनले भने, “सरकारले त सहजीकरण गर्ने, नीतिगत सुधार गर्ने र प्लेट फर्म दिने हो ।”

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स