कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि कुटपिट
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि कुटपिट भएको छ। शनिबार नेपाल प्रेस युनियन झापाद्वारा आयोजित वार्षिक साधारणसभाबाट फर्किंदै गरेका थापालाई नेपाल विद्युत प्राधिकरण झापाका ड्राइभरसहितको समूहले कुटपिट गरेको हो।
थापाको बा १ झ ६५३ नम्बरको गाडीलाई बा १ झ १८७० नम्बरको विद्युत प्राधिकरणको गाडीमा सवार समूहले जुकेखाडी नजिक रोकेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिएका छन्।
कुटपिटबाट थापाको आँखामा सामान्य चोट लागेको छ।
प्रहरीका अनुसार, थापा सवार गाडीले विद्युत प्राधिकरणको गाडी ओभरटेक गर्ने क्रममा विवाद हुँदा हात हालाहालको अवस्था आएको हो।
घटनामा संलग्न शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।