लाभांश पारित गर्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न



आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार काठमाडौँको आम्रपाली बैङ्क्वेट, भाटभटेनी–नक्शालमा सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकालले सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै बीमाले व्यक्ति, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानवसिर्जित जोखिमबाट उत्पन्न हुने आर्थिक संकट न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । बीमा बजारको विकास, पहुँच र विश्वसनीयतालाई राष्ट्रको आर्थिक अवस्था र व्यवसायिक दिगोपनको प्रमुख सूचकका रूपमा लिने गरिने उल्लेख गर्दै कम्पनीले स्थापनाको २८ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी गराए ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा निर्माण सम्पन्न भएको दुई तल्ला पार्किङसहित ११ तल्ले भवन ठेकेदार कम्पनीबाट हस्तान्तरण भइसकेको र २०८२ माघभित्र प्रधान कार्यालय नारायणचौरबाट पानीपोखरीस्थित आफ्नै भवनमा स्थानान्तरण हुने जानकारी दिइयो । आवश्यक चार तल्ला प्रयोग गरी बाँकी तल्ला भाडामा दिई आम्दानी गर्ने योजना पनि सभालाई अवगत गराइएको छ ।

अध्यक्ष ढकालले चालु आर्थिक वर्षमा जेनजी आन्दोलन तथा अविरल वर्षा, बाढी–पहिरोका कारण निर्जीवन बीमा क्षेत्रमा करिब २७ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको जानकारी दिए । यद्यपि सरकारी नीतिगत पहल, आर्थिक सूचकमा देखिएको क्रमिक सुधार र सेयर बजारको सकारात्मक संकेतले दीर्घकालमा व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे । साथै सूचना प्रविधिको प्रयोगमार्फत सेवा अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्यसहित डिजिटल सेवामा जोड दिइएको बताए ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशका सातै प्रदेशमा रहेका ९० शाखामार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरद्वारा सेवा प्रदान गरिरहेको जानकारी गराए । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ, जसका आधारमा आईजीआई प्रुडेन्सियल निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा क्षेत्रको कुल बीमा प्रिमियम ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले पनि समीक्षा वर्षमा बीमा प्रिमियम ६.३२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । सो अवधिमा १८ हजार ५०० दाबीबापत २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने विभिन्न कर शीर्षकमा नेपाल सरकारलाई ७९ करोड ८७ लाख रुपैयाँ बुझाइएको जानकारी सभामा प्रस्तुत गरिएको छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad