लाभांश पारित गर्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार काठमाडौँको आम्रपाली बैङ्क्वेट, भाटभटेनी–नक्शालमा सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकालले सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै बीमाले व्यक्ति, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानवसिर्जित जोखिमबाट उत्पन्न हुने आर्थिक संकट न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । बीमा बजारको विकास, पहुँच र विश्वसनीयतालाई राष्ट्रको आर्थिक अवस्था र व्यवसायिक दिगोपनको प्रमुख सूचकका रूपमा लिने गरिने उल्लेख गर्दै कम्पनीले स्थापनाको २८ वर्ष सफलतापूर्वक पूरा गरेको जानकारी गराए ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा निर्माण सम्पन्न भएको दुई तल्ला पार्किङसहित ११ तल्ले भवन ठेकेदार कम्पनीबाट हस्तान्तरण भइसकेको र २०८२ माघभित्र प्रधान कार्यालय नारायणचौरबाट पानीपोखरीस्थित आफ्नै भवनमा स्थानान्तरण हुने जानकारी दिइयो । आवश्यक चार तल्ला प्रयोग गरी बाँकी तल्ला भाडामा दिई आम्दानी गर्ने योजना पनि सभालाई अवगत गराइएको छ ।

अध्यक्ष ढकालले चालु आर्थिक वर्षमा जेनजी आन्दोलन तथा अविरल वर्षा, बाढी–पहिरोका कारण निर्जीवन बीमा क्षेत्रमा करिब २७ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको जानकारी दिए । यद्यपि सरकारी नीतिगत पहल, आर्थिक सूचकमा देखिएको क्रमिक सुधार र सेयर बजारको सकारात्मक संकेतले दीर्घकालमा व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे । साथै सूचना प्रविधिको प्रयोगमार्फत सेवा अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्यसहित डिजिटल सेवामा जोड दिइएको बताए ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशका सातै प्रदेशमा रहेका ९० शाखामार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरद्वारा सेवा प्रदान गरिरहेको जानकारी गराए । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ, जसका आधारमा आईजीआई प्रुडेन्सियल निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा क्षेत्रको कुल बीमा प्रिमियम ६.७७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले पनि समीक्षा वर्षमा बीमा प्रिमियम ६.३२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । सो अवधिमा १८ हजार ५०० दाबीबापत २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने विभिन्न कर शीर्षकमा नेपाल सरकारलाई ७९ करोड ८७ लाख रुपैयाँ बुझाइएको जानकारी सभामा प्रस्तुत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स