चार कम्पनीहरूको वार्षिक साधारण सभा भोलि असार ३० गते (सोमबार) बस्दैछ। एशियन लाइफ इन्स्योरेन्स, अभियान लघुवित्त, एलआईसी नेपाल र यूनाइटेड अजोड इन्स्योरेन्सले भोलि सोमबार सभा आयोजना गरेका छन् ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा बारास्थित होटल इच्छा सिमरामामा दिउँसो १ बजे सुरु हुनेछ। सभामा ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, वार्षिक प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिमा समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ। साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको थियो। जसअनुसार असार १९ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश पाउनेछन्।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ। उक्त सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाएको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सानसम्बन्धी विवरणमाथि छलफल गरिनेछ भने आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गरेको थियो। जसअनुसार, असार १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेड (एलआईसी नेपाल)ले २३औं वार्षिक साधारणसभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। जसअनुसार, असार १५ गतेसम्म कायम सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउनेछन्।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १०.३० बजे सुरु हुनेछ। सभामा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरिनेछ।
बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन १० प्रतिशत हकप्रद सेयर निष्काशन प्रस्ताव परिमार्जन गरिनेछ। सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्ति, पारिश्रमिक र नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पारित गरिने छन्। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १९ गते बुक क्लोज गरेको थियो। जसअनुसार, असार १८ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारणसभामा भाग लिन र लाभांश पाउनेछन्।















प्रतिकृया