विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा के आयो आदेश ?

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा के आयो आदेश ?

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सम्पूर्ण मिसिल झिकाउन आदेश दिएको वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईले जानकारी दिए।

पौडेलविरुद्ध सोही मुद्दासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अभियोगमा पूरक अभियोग दायर गर्ने उद्देश्यले अनुसन्धान भइरहेकाले सर्वोच्चले मूल मुद्दाको मिसिल माग गरेको हो।

सुनुवाइका क्रममा पौडेलका कानुन व्यवसायीहरूले मूल मुद्दामा विष्णुप्रसाद पौडेलविरुद्ध कुनै पनि कसुर नदेखिएको दाबी गरेका थिए। त्यसपछि सर्वोच्चले सम्बन्धित मिसिल झिकाउने आदेश दिँदै मुद्दाको अर्को पेसी बिहीबारका लागि तोकेको छ।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमार्फत उनले पौडेललाई तत्काल थुनामुक्त गर्न आदेश माग गरेकी छन्।

यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग ‘किन आदेश जारी गर्नु नपर्ने हो’ भन्ने आधारसहित कारण पेश गर्न आदेश दिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विष्णुप्रसाद पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी छ।

यस्तै, सोमबार विशेष अदालत काठमाडौंले अनुसन्धानका लागि पौडेललाई असार १७ गतेसम्म थुनामा राख्न अनुमति दिएको थियो। हाल उनी न्यायिक हिरासतमा रहेका छन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स