आज एलआइसी नेपालको हकप्रद भर्ने अन्तिम दिन
लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरेको थियो ।जस अनुसार कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।