सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २८ गते
सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका गितेन्द्र बाबु (जीबी) राईको राहदानी रोक्का भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो। यसअघि पनि कास्की प्रहरीले राईको राहदानी रद्द गर्न माग गर्दै विभागलाई पत्र पठाएको थियो, तर विभागले त्यसबेला सहकारी ठगी कसुरका लागि राहदानी रद्द गर्न नमिल्ने जवाफ दिएको थियो।

राहदानी ऐन, २०७६ अनुसार सहकारी ठगी जस्ता मुद्दामा मात्र राहदानी रोक्का गर्ने कानुनी व्यवस्था छैन। तर पछिल्लो समय राईविरुद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधका मुद्दा थपिएपछि राहदानी रोक्का गर्ने बाटो खुलेको हो। प्रहरी अधिकारीहरूका अनुसार राहदानी रोक्का भएपछि मलेसियामा रहेका राईले अब अन्य देशमा यात्रा गर्न पाउने छैनन्।

पाँचवटा सहकारी संस्थाहरू- काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा चितवन सहकारी, वीरगञ्जको सानोपाइला सहकारी र बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ अपचलन भएको आरोप राईमाथि छ। उक्त अपचलनका मुख्य योजनाकार राई नै रहेको प्रहरीको निष्कर्ष छ। यस प्रकरणमा राईविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन र रेड नोटिस समेत जारी भइसकेको छ।

यसै प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन्। अदालतले बिहीबार मात्र अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ।

राहदानी ऐनको दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का गर्ने अवस्थाहरूबारे उल्लेख छ। अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध कारोबार, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद जस्ता अभियोगमा अनुसन्धानका क्रममा राहदानी रोक्का गर्न सकिने प्रावधान रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स