एनआरएनए चुनाव: अध्यक्षको टिकट ७ लाख, बाँकी पदको ‘रेट लिस्ट’ कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १९ गते
एनआरएनए चुनाव: अध्यक्षको टिकट ७ लाख, बाँकी पदको ‘रेट लिस्ट’ कति?

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मे ३ देखि ५ सम्म काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनका लागि उम्मेदवारी मनोनयन शुल्क तोकेको छ। सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको १३औँ बैठकले उम्मेदवारी शुल्क निर्धारण गरेको हो।

समितिको निर्णयअनुसार अध्यक्ष पदका लागि ७ लाख रुपैयाँ, उपाध्यक्ष पदका लागि ५ लाख, महासचिवका लागि ४ लाख, सचिव र कोषाध्यक्षका लागि ३ लाख, सह-कोषाध्यक्षदेखि संयोजक पदका लागि २ लाख तथा उप-संयोजकदेखि आइसिसी सदस्य पदका लागि १ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ।

उच्चस्तरीय समितिले यसअघि नै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ। समितिमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन्। निर्वाचन समितिलाई सदस्यता तथा डेलिगेट्स सूची बुझाएपछि औपचारिक कार्यहरू अघि बढाइने जनाइएको छ। साथै, निर्वाचन प्रक्रियालाई सहज बनाउन आवश्यक कार्यविधि (टिओआर) एक साताभित्र तयार गरिने बैठकले निर्णय गरेको छ।

एनआरएनए सदस्यता वितरणको समय एक साता थप गरी अप्रिल ७ सम्म पुर्‍याइएको छ। प्रतिनिधि (डेलिगेट्स) बन्नका लागि अप्रिल १ देखि २२ सम्म आवेदन दिन सकिनेछ। काठमाडौँका प्रतिनिधिहरूले १०० डलर वा सो बराबरको नेपाली रकम बुझाउनुपर्नेछ।उच्चस्तरीय समितिले एमआइस प्रणालीमा पहुँच नपाएपछि आफ्नै वेबसाइटमार्फत सदस्यता आवेदन खुला गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स