नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्ला, कस्तो छ वित्तीय अवस्था ?



Advertisement
Ads

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपीओ जारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ रहेको छ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त २२ लाख ५० हजार कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरिसकेको छ, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ। अब, बाँकी १८ लाख ४५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।


Advertisement

वित्तीय अवस्थाको आधारमा, हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ, जुन आइपीओ निष्कासनपछि ७५ करोड रुपैयाँ पुग्नेछ। सेयर निष्कासनपछि संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको स्वामित्व ३० प्रतिशत हुनेछ। संस्थापक सेयरधनीमध्ये सबैभन्दा बढी स्वामित्व सेन्ट्रीम क्यापिटलको रहेको छ।

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म ७० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ सम्म यो नाफा १ करोड ७ लाख २८ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ भने २०८३/८४ सम्म १ करोड ५७ लाख ८८ हजार रुपैयाँ हुने अपेक्षा गरिएको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रति सेयर आम्दानी (ईपिएस) ९५ पैसा रहनेछ भने नेटवर्थ १०१ रुपैयाँ ९० पैसा पुग्नेछ। आर्थिक वर्ष २०८३/८४ सम्म ईपिएस बढेर २ रुपैयाँ ११ पैसा पुग्ने अनुमान गरिएको छ भने नेटवर्थ १०५ रुपैयाँ ४३ पैसा हुनेछ। कम्पनीले वित्तीय प्रक्षपणमा उल्लेख गरेको छ।

तर, पछिल्लो वित्तीय विवरण हेर्दा कम्पनीको नाफामा गिरावट देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफा ८८.३१ प्रतिशतले घटेर २ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष सोही अवधिको २० लाख ७८ हजार रुपैयाँको तुलनामा निकै कम हो। कर्जा तथा लगानीबाट हुने आम्दानी पनि ५.४९ प्रतिशतले घटेर २ करोड १६ लाख २२ हजार रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७० पैसाले घटेर ९ पैसामा सीमित भएको छ।

कम्पनीले आइपीओबाट संकलित गर्ने २२ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्धती निक्षेपमा लगानी गर्नेछ भने ऋणपत्र तथा डिबेञ्चरमा ६ करोड रुपैयाँ विनियोजन गरेको छ। नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा २ करोड ५० लाख रुपैयाँ लगानी गर्न छुट्टाएको छ भने भौतिक पूर्वाधार र शाखा विस्तारका लागि १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ।

हाल कम्पनीको वित्तीय प्रदर्शन कमजोर देखिए पनि, कम्पनीले आइपीओबाट संकलित रकमलाई उचित रूपमा परिचालन गर्न सकेमा भविष्यमा वृद्धिको सम्भावना देखिन्छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर