१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय अव्यवहारिक छ, यसले भयावह स्थिती निम्त्याउन सक्छ : पूर्व गभर्नर डा. नेपाल



Advertisement
Ads

बैशाख २० गते बिहिबारका दिन बसेको मन्त्रीपरिषदको बैठकले १०० रुपैयाँको नोटको अग्रभागमा रहेको नेपालको नक्साको ठाउँमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गर्यो। सो लगत्तै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी रुपमा निर्णय गरेको भन्दै असन्तुष्टि जनाए। नोटमा नयाँ नक्सा राख्नेबित्तिकै धरातलीय यथार्थ परिवर्तन नहुने उनको भनाई थियो। नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो । भारतले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

सरकारको यो निर्णयका सन्दर्भमा मिश्रित प्रतिकृयाहरु आईरहेका छन्। कतिपयले यसलाई सरकारको राष्ट्रवादी कदम भन्दै स्वागत गरिरहेका छन् भने कतिपयले चाहिँ यो निर्णयले भारतसँगको सम्बन्धमा प्रतिकुल असर पर्ने र त्यसले मुलुकमा संकट उत्पन्न हुने भन्दै सरकारको यो कदम अव्यवहारिक रहेको बताईरहेका छन्। यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर तथा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले सरकारको यो निर्णयले अप्ठेरो अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई थप जटिल बनाउने धारणा व्यक्त गरेका छन्।


Advertisement

डा. नेपालले चिरफारकर्मी बसन्त पाण्डेसँगको कुराकानीको क्रममा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश:

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने भन्ने कुरा थाहा पाएपछि मा चिन्तित भएको छु। हामीले संविधान संशोधन गरेर नक्सा पास गरेका छौं। नेपालको संविधान नेपालको सिमानाभित्र लागू हुने हो, नेपाल बाहिर लागू हुने त होईन। तर चुच्चे नक्सा भएको नोट त खुल्ला बोर्डर भएको हुनाले भारतको सीमावर्ती ईलाकामा पनि चलनचल्तीमा आउँछ। नेपालको अर्थतन्त्रमा दुई तिहाई व्यापार नेपाल र भारत बीच छ। त्यसपछीको स्थिती के हुन्छ ? पैसा भनेपछि यो नेपाल भित्रको मात्रै कुरा भएन। नेपालले डलर बेचेर भारतीय सरकारसँग भारतीय रुपैयाँ किन्ने गर्छ। नेपालबाट भारतमा पढ्न जाने, घुम्न जाने, तीर्थयात्रामा जानेहरुलाई राष्ट्र बैंक लगायत नेपालका वाणिज्य बैंकहरुले त्यो पैसा उपलब्ध गराउने गर्दछन। तराईमा ने.रु.र भा.रू. खुल्ला रुपमा कारोबार भईरहेको हुन्छ। नेपालका होटेल र क्यासिनोमा दुबै करेन्सीमा सजिलै भुक्तानी हुन्छ।

नेपाली १०० रुपैयाँमा चुच्चे नक्सा हुनेबित्तिकै त्यो भारतीय सिमावर्ती बजारहरुमा नचल्ने सम्भावना बढी हुन्छ। अरु दरका नेपाली नोटहरु पनि नचल्ने सम्भावना हुन्छ। भारतीय सरकारले उसको क्षेत्रमा नेपाली नोटहरु नचलाउने निर्णय गर्नसक्ने सम्भावना देखिन्छ। नेपालले गर्ने आयात र निर्यातमा यसले प्रभाव पार्नेछ। ८५० किलोमिटर खुल्ला सिमाना भएको दुई देशबीचको सम्बन्धमा असहज हुने स्थिती आउन सक्छ। भारु को बजारमा मूल्य बढ्ने स्थिती र नेरु अवमुल्यन हुने स्थिती हुनसक्छ। चीनले पनि आफ्नो नयाँ नक्सामा चुच्चे नक्सालाई स्थान नदिएको अवस्था छ। भारतले वार्तावाट समाधान गरौँ भनिरहेको अवस्थामा सरकारको यो अप्रत्याशित  कदमले भारतीय सरकारसँग सम्बन्ध बिग्रिनसक्ने देखिएको छ। नेपाली रुपैयाँ बजारबाट विस्थापित हुने सम्भावना हुन जान्छ। भारतीय लगानी विस्थापित हुनसक्ने सम्भावना पनि छ। अहिलेको अवस्थामा भारतीय पर्यटक नेपालमा सबैभन्दा बढी आउँछन् त्यसमा कमी आउने उच्च सम्भावना रहन्छ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने यस प्रकृतिका निर्णयहरु गर्दा व्यवहारीक पक्षलाई बढी ध्यान दिनुपर्छ। वार्ता र संवादबाटै समस्याहरुको समाधान निकाल्ने तर्फ सरकार केन्द्रित हुनुपर्छ। मुद्रा जस्तो कुरामा निर्णय गर्दा त्यसको समग्र प्रभावलाई मूल्यांकन गर्नैपर्छ। सरकारको यो निर्णय व्यवहारिक भएन। यो खेलाँची गर्ने कुरा होईन, यसको परिणाम भयावह हुनसक्छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर