नेपाली सेयरबजारमा हकप्रद सेयर जारी गर्न अनुमति पाएका अधिकांश कम्पनीहरुले हकप्रद सेयर बिक्री पश्चात पनि सम्पूर्ण सेयर बिक्री नभएको कारण लिलामी प्रक्रियाबाट बिक्री गर्दै आएका छन्। पछिल्लो समयमा सेबोनबाट ६ कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएका थिए। तीमध्ये ४ कम्पनीले सेयर बिक्री गरिसकेका छन्, १ कम्पनीले आवेदन दिने म्याद थप गरेको छ, र १ कम्पनीको हकप्रद सेयर बिक्री प्रक्रिया खुल्न बाँकी छ।
४ कम्पनीले: एलआइसी नेपाल, एनएलजी इन्स्योरेन्स,लिबर्टी इनर्जी, र बलेफी हाइड्रो पावरले हकप्रद सेयर बिक्री खुला गरेर बाँडफाँड गरिसकेका छन। अब बाँकी रहेको अवतरित हकप्रद सेयर कम्पनीले लिलामीमा बिक्री गर्ने जनाएका छन।
एलआइसी नेपालले १:०.८८४५१६८ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो, जसको आवेदन म्याद मङ्सिर १२ गते देखि पुस १७ सम्म खुला गरिएको थियो। जसमध्ये ४ लाख ९२ हजार ५७७ कित्ता सेयरमा आवेदन परेन। अब कम्पनीले बाँकी रहेको यो सेयर लिलामी मार्फत आगामी माघ २१ गतेबाट बिक्री गर्नेछ। कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ भने अधिकतम कित्ताको सीमा तोकिएको छैन। यसमा फाल्गुन ५ गतेसम्म आवेदन दिन सकिनेछ।
यस्तै, एनएलजी इन्स्योरेन्सले १०:६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२ कित्ता हकप्रद सेयर मङ्सिर ११ देखि पुस १ सम्मको बिक्री खुला गरिएको थियो। । तर, जारी गरिएको सेयर मध्ये ३ लाख २० हजार ५३३ कित्ता सेयर बिक्री नभएपछि कम्पनीले यसलाई अब माघ २० देखि लिलामीमा ल्याउने भएको छ। कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ भने अधिकतम सीमा तोकिएको छैन। यसमा इच्छुक लगानीकर्ताले माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ।
लिबर्टी इनर्जीले १:०.५ अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर मङ्सिर १६ देखि पुस ७ सम्म आवेदनका लागि खुला गरेको थियो।तर, जारी गरिएको सेयर मध्ये ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री नभएपछि कम्पनीले माघ २ देखि ९ सम्म लिलामीमा बिक्री गरिसकेको छ। कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको थियो।
बलेफी हाइड्रो पावर लिमिटेडले १:१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर जारी गरेको थियो। कम्पनीले मङ्सिर २७ देखि पुस १९ सम्मको आवेदन म्याद खुला गरेको थियो। तर, जारी गरिएको सेयर मध्ये १७ लाख ९८ हजार ६५६ कित्ता सेयर बिक्री नभएपछि कम्पनीले बाँकी सेयर लिलामीमा ल्याउने तयारी गरेको छ। हालसम्म लिलामीको मिति भने तय भएको छैन।
यसरी इच्छुक लगानीकर्ताले यी कम्पनीहरुको अवितरित सेयर लिलामी मार्फत पनि खरिद गर्न सक्नेछन्।
















प्रतिकृया