कुन बैंकको वित्तिय अवस्था कस्तो छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १० गते

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ९ महिना — अर्थात् साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

बैंकहरूले हरेक त्रैमासिक प्रतिवेदन (Quarterly Report) सम्बन्धित त्रैमासिक सकिएको ७ दिनभित्र सार्वजनिक गर्नुपर्ने नियमअनुसार, सबै वाणिज्य बैंकहरूले गत महिनाको पहिलो साताभित्रै आफ्नो प्रतिवेदन प्रकाशन गरिसकेका थिए।

आजको यो भिडियो हामीले ती बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनलाई review गर्ने उद्देश्यले तयार पारेका हौं। यसमा हामी बैंकहरूका प्रमुख वित्तीय सूचकहरूमाथि चर्चा गर्नेछौं।

सुरुवातमा कुरा गरौ बैंकको नाफाको

चैत मसान्तसम्म १९ वटा वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा केवल १.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो नाफा ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ थियो।

रिपोर्टअनुसार, १९ मध्ये ११ बैंकको नाफा बढेको छ भने ९ बैंकको नाफा घटेको छ।

सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बैंक बनेको छ, जसले तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

नबिलपछि दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ, जसले ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ। तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको छ।

यी दुई बैंकको नाफामा क्रमशः ३८.६१ प्रतिशत र ३७.१२ प्रतिशत वृद्धि भएको छ। तर, सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकको नाफा भने केवल ८.२१ प्रतिशत मात्र बढेको हो।

नेपाल बैंक लिमिटेडले नाफा वृद्धिमा उल्लेखनीय फड्को मारेको छ। अघिल्लो वर्ष १३ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले यसपटक २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाउँदै २,०३२ प्रतिशतको बृद्धि हासिल गरेको छ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा थोरै, केवल २.२४ प्रतिशतले मात्रै रहेको छ।

अर्कोतर्फ, एनआईसी एशिया बैंक सबैभन्दा बढी नाफा घटेको बैंक बनेको छ। अघिल्लो वर्ष १ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले यस वर्ष केवल १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ।

हिमालयन बैंक र कुमारी बैंकको नाफा पनि क्रमशः ७४.३३ प्रतिशत र ७२.८५ प्रतिशतले घटेको देखिन्छ।

अब कुरा गरौं—बैंकहरूको लाभांश दिन सक्ने क्षमता, अर्थात् वितरणयोग्य मुनाफाका बारेमा।

वाणिज्य बैंकहरूको नाफामा सामान्य सुधार देखिए पनि वितरणयोग्य मुनाफा अझै सन्तोषजनक देखिएको छैन। वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ६८ करोड रुपैयाँ मात्र छ।

चैत मसान्तसम्म ६ वटा वाणिज्य बैंक—राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र प्रभु बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ। यी बैंकहरूले हाललाई लाभांश दिन सक्ने स्थिति देखिँदैन।

अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ऋणात्मक देखिएका माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र नेपाल बैंक भने यसपटक सकारात्मक अवस्थामा आइपुगेका छन्।

वितरणयोग्य मुनाफाका हिसाबले सबैभन्दा अगाडि रहेको बैंक हो—एभरेष्ट बैंक, जसको वितरणयोग्य मुनाफा ३ अर्ब ६७ करोड रुपैयाँ छ। त्यसपछि ग्लोबल आइएमई बैंकको ३ अर्ब ५४ करोड, नबिल बैंकको २ अर्ब ७८ करोड, र सानिमा बैंकको २ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

अन्य बैंकहरूको वितरणयोग्य मुनाफा यसप्रकार छः कृषि विकास बैंक १ अर्ब ९१ करोड, प्राइम बैंक १ अर्ब ७३ करोड, स्टान्डर्ड चार्टर्ड बैंक १ अर्ब ४७ करोड, एनएमबि बैंक १ अर्ब ३१ करोड, एसबिआई बैंक १ अर्ब ५ करोड, लक्ष्मी सनराइज ७७ करोड, नेपाल बैंक ३० करोड, सिद्धार्थ बैंक १८ करोड, सिटिजन्स बैंक १६ करोड र माछापुच्छ्रे बैंक ७ करोड रुपैयाँ।

वितरणयोग्य घाटाको हिसाबले सबैभन्दा खराब अवस्थामा रहेको बैंक हो, हिमालयन बैंक:  जसको घाटा ७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। त्यसपछि एनआईसी एशिया बैंकको ३ अर्ब ५६ करोड र प्रभु बैंकको ३ अर्ब ४० करोड रुपैयाँ वितरणयोग्य घाटा देखिएको छ।

अब कुरा गरौं बैंक हरुले निष्क्रिय कर्जाको बारेमा

हाल बैंक तथा वित्तीय संस्थाहरू निष्क्रिय कर्जाको चपेटामा परिरहेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंकहरूमा असुली हुन नसकेको कर्जा (नन–पर्फर्मिङ लोन) उल्लेखनीय रूपमा बढेको देखिन्छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ वाणिज्य बैंकहरूमध्ये १६ वटाको निष्क्रिय कर्जा अनुपात (NPL Ratio) वृद्धि भएको छ भने दुई बैंकले मात्र यसलाई घटाउन सफल भएका छन्। झन्डै आधा अर्थात् ९ वटा बैंकको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ, जन चिन्ताजनक मानिन्छ।

यस अवधिमा हिमालयन बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै वृद्धि भएको छ। अघिल्लो त्रैमासमा ४.९६ प्रतिशत रहेको NPL अनुपात बढेर अहिले ७.६८ प्रतिशत पुगेको छ। दोस्रो स्थानमा रहेको कुमारी बैंकको निष्क्रिय कर्जा पनि ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशत पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको NPL अनुपात ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ। यस्तै, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, नेपाल बैंक र प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ।

ग्लोबल आइएमई, नबिल, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, एनएमबि, नेपाल एसबिआई, सिद्धार्थ बैंकको खराब कर्जा ४ देखि ५ प्रतिशतको बीचमा छ । यस्तै सानिमा बैंकको भने ३,४२ प्रतिशत छ ।

यसबिचमा स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले भने खराब कर्जा घटाउन सफल भएका छन्। स्टान्डर्ड चार्टर्डको खराब कर्जा दर १.४४ प्रतिशत छ भने एभरेष्ट बैंकको केवल ०.६४ प्रतिशत मात्र रहेको छ।

अब हेरौं — कुन वाणिज्य बैंकको वित्तीय अवस्था कस्तो देखिएको छ?नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूको तेस्रो त्रैमासको नाफा विवरणलाई आधार मान्दै, हामी तिनीहरूलाई सबैभन्दा धेरै नाफा कमाउनेदेखि थोरै नाफा कमाउने बैंकसम्म क्रमबद्ध रूपमा प्रस्तुत गर्दैछौं।

नबिल बैंक

नबिल बैंकको खुद नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी ०.२० प्रतिशतले घटेर १५ अर्ब ३० करोड रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज २९.३३ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.३४ प्रतिशत बिन्दुले बढेर १.५९ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा ८५.३० प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष ८.१३ प्रतिशतले बढेर ३१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ६५ पैसाले बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुद नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेर १२ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब २० करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.४१ प्रतिशत बिन्दुले बढेर १.५३ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा घटेर १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक भएको छ।

जगेडा कोष बढेर३१ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ९४ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३२ करोड रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेर १५ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज घटेर ३ अर्ब ११ करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.२४ प्रतिशत बिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष बढेर २४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६६ पैसाले बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक को खुद नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानी ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज घटेर २७ करोड २९ लाख ९८ हजार रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.०६ प्रतिशत बिन्दुले घटेर ०.६४ प्रतिशतमा सिमित भएको छ।

वितरणयोग्य नाफा ३३.८१ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष ८.९८ प्रतिशतले बढेर १३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ६.०६ पैसाले बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ।

 नेपाल बैंक

नेपाल बैंक को खुद नाफा २,०३२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेर ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानी ७.१९ प्रतिशतले बढेर ८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड २८ लाख रुपैयाँमा आएको छ।

खुद खराब कर्जा अनुपात ०.६० प्रतिशत बिन्दुले बढेर ५.४५ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ।

जगेडा कोष २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ८ पैसाले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ।

 एनएमबी बैंक

एनएमबी बैंक को खुद नाफा ५.८८ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी १९.१६ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा १०.६६ प्रतिशतले बढेर ३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ६१.१३ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात १.६१ प्रतिशत बिन्दुले बढेर ४.४७ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष ११.१४ प्रतिशतले बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा पुगेको छ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक को खुद नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड ९३ लाख रुपैयाँमा सिमित भएको छ।

खुद ब्याज आम्दानी १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानी १६.४८ प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ८९ करोड ५० लाखबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात १.३६ प्रतिशत बिन्दुले बढेर ५.६५ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा ४५२.८७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष ५.४० प्रतिशतले बढेर १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ४.४६ पैसाले घटेर १५.३२ पैसामा पुगेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक को खुद नाफा ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड ३७ लाख रुपैयाँमा सिमित भएको छ।

खुद ब्याज आम्दानी १७.३३ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी १०.४७ प्रतिशतले घटेर ४ अर्ब ८६ करोड रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज १३९.६० प्रतिशतले घटेर ऋणात्मक १० करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात ०.७० प्रतिशत बिन्दुले घटेर १.४४ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष ९.१६ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७४ पैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा सिमित भएको छ।

प्रभु बैंक

प्रभु बैंक को खुद नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी १६.०४ प्रतिशतले घटेर ७ अर्ब ८ करोड रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी ५.६२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज २९.६० प्रतिशतले घटेर १ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

खराब कर्जा अनुपात ०.२८ प्रतिशत बिन्दुले बढेर ५.०९ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा घटेर ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ०.३७ पैसाले बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ।

कृषि विकास बैंक

कृषि विकास बैंक को खुद नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड रुपैयाँमा आएको छ।

सञ्चालन आम्दानी ७.२३ प्रतिशतले घटेर ७ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ।

इम्पेयरमेन्ट चार्ज १ अर्ब ५२ करोड रुपैयाँबाट घटेर ९२ करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात १.६८ प्रतिशतबिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ रहेको छ।

जगेडा कोष २.४९ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २.५३ पैसाले घटेर घटेर १५.४० पैसा पुगेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक को खुद नाफा ०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँमा सिमित भएको छ।

खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले बढेर ६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज २९.८८ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात १.५२ प्रतिशत बिन्दुले बढेर ४.०४ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा बढेर १८ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

जगेडा कोष ११.६१ प्रतिशतले बढेर १४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ०.२१ पैसाले घटेर १५ रुपैयाँ ८९ पैसा पुगेको छ।

सानिमा बैंक

सानिमा बैंक को खुद नाफा १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी ६.५२ प्रतिशतले घटेर ४ अर्ब २८ करोड रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी १.७६ प्रतिशतले बढेर ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज १२.०९ प्रतिशतले घटेर १ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

खराब कर्जा अनुपात ०.९१ प्रतिशत बिन्दुले बढेर १.६० प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा १९०.५० प्रतिशतले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष ३.९८ प्रतिशतले बढेर ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ०६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा पुगेको छ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक को खुद नाफा २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी घटेर १० अर्ब २५ करोड ४२ लाख रुपैयाँमा सिमित भएको छ।

इम्पेयरमेन्ट चार्ज घटेर ३ अर्ब २० लाख रुपैयाँमा आएको  छ।

खराब कर्जा अनुपात ०.३७ प्रतिशत बिन्दुले बढेर ५.८६ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा बढेर ७७ करोड २७ लाख २० हजार रुपैयाँ पुगेको छ।

जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २४ पैसाले घटेर ९ रुपैयाँ ०५ पैसामा आएको छ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंक को खुद नाफा ३.३६ प्रतिशतले बढेर १ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी १.०९ प्रतिशतले घटेर ३ अर्ब ५३ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ।

सञ्चालन आम्दानी २.१५ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ६० लाख रुपैयाँ रहेको छ।

खराब कर्जा अनुपात २.०८ प्रतिशत बिन्दुले बढेर ४.०६ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा २६.०३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष १.९१ प्रतिशतले बढेर ८ अर्ब ३ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ०.४८ पैसाले बढेर १४ रुपैयाँ ७२ पैसा पुगेको छ।

 माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक को खुद नाफा २८.८९ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानी १३.०६ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज २४.२१ प्रतिशतले घटेर ७२ करोड रुपैयाँ रहेको छ।

खुद खराब कर्जा अनुपात ०.९१ प्रतिशत बिन्दुले बढेर ४.५९ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा बढेर ७ करोड रुपैयाँ पुगेको छ।

जगेडा कोष १०.५१ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ पैसाले बढेर १२ रुपैयाँ ६५ पैसा पुगेको छ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको खुद नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड १८ लाख रुपैयाँमा सिमित भएको छ।

खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन आम्दानी १४.८९ प्रतिशतले बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ११९.५५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात १.९५ प्रतिशत बिन्दुले बढेर ५.७१ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा ७५९.५६ प्रतिशतले बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

जगेडा कोष १२.८३ प्रतिशतले बढेर ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २.६९ पैसाले घटेर ८.६८ पैसा पुगेको छ।

हिमालयन बैंक

हिमालयन बैंकको खुद नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोड रुपैयाँमा सिमित भएको छ।

खुद ब्याज आम्दानी ८.०८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।

सञ्चालन आम्दानी ४.६३ प्रतिशतले घटेर ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ४१.५० प्रतिशतले घटेर १ अर्ब ३२ करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात २.७२ प्रतिशत बिन्दुले बढेर ७.६८ प्रतिशत पुगेको छ।

वितरणयोग्य नाफा ४०.४४ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

जगेडा कोष १.९१ प्रतिशतले बढेर २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा आएको छ।

कुमारी बैंक

कुमारी बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख रुपैयाँमा सिमित भएको छ।

खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।

सञ्चालन आम्दानी ०.५५ प्रतिशतले घटेर १० अर्ब ५० करोड रुपैयाँमा आएको छ।

इम्पेयरमेन्ट चार्ज ४५.८२ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात २.०३ प्रतिशत बिन्दुले बढेर ६.९८ प्रतिशतमा पुगेको छ।

वितरणयोग्य नाफा ६ अर्ब ५० करोड रुपैयाँ  ऋणात्मक रहेको छ।

जगेडा कोष ११.३७ प्रतिशतले बढेर १५ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) ३.९० पैसाले घटेर १.४५ पैसा रहेको छ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको खुद नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।

खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९ करोड रुपैयाँमा पुगेको छ।

सञ्चालन आम्दानी १०.७७ प्रतिशतले घटेर ९ अर्ब १९ करोड रुपैयाँ कायम छ।

इम्पेयरमेन्ट चार्ज ४२.५२ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात ०.१६ प्रतिशत बिन्दुले बढेर १.९२ प्रतिशतमा पुगेको छ।

वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

जगेडा कोष सामान्य बढेर १८ अर्ब ३८ रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसाले घटेर १ रुपैयाँ ४० पैसा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स