राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरेको छ। परिषद्का अनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत देशका विभिन्न प्रदेशहरूमा आयोजना हुने प्रदर्शनीका लागि अब २०८३ जेठ ४ गते राति १२ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ। प्रदर्शनी सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णालीको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, बागमतीको हेटौंडा, मधेशको वीरगंज र कोशीको विराटनगरमा आयोजना गरिनेछ।
परिषद्ले प्रत्येक प्रदेशबाट १५/१५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय छनोट गरी प्रदर्शनीमा सहभागी गराउने जनाएको छ। यसका लागि सम्बन्धित प्रदेशमा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवा उद्यमीहरूले आवेदन दिन सक्नेछन्।
छनोटमा परेका व्यवसायीहरूलाई प्रति स्टल १० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ भने प्रदर्शनीमा उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र दुई जनालाई सान्त्वना स्वरूप जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
यसअघि आह्वान गरिएका आवेदनहरूलाई यथावत् राखिएको परिषद्ले जनाएको छ। कार्यक्रमको मिति, स्थान र छनोट सूची सार्वजनिक भएपछि थप जानकारी दिइनेछ। साथै, आवेदन प्रक्रिया वा प्राविधिक समस्याका लागि परिषद्ले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिनेछ।
आवेदन यहाँ क्लिक गरेर दिन सकिनेछ ।


प्रतिकृया