स्टार्टअपब्लिङ्कले सार्वजनिक गरेको ‘ग्लोबल स्टार्टअप इकोसिस्टम इन्डेक्स २०२६’ अनुसार नेपाल विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको ‘कन्टेन्डर इकोसिस्टम’ बनेको छ। प्रतिवेदनअनुसार नेपालको स्टार्टअप इकोसिस्टमको वृद्धि दर ९५.९ प्रतिशत रहेको छ।
प्रतिवेदनले नेपालको कुल स्टार्टअप इकोसिस्टम मूल्य १.५ बिलियन अमेरिकी डलर पुगेको उल्लेख गरेको छ। इकोसिस्टम भ्यालुको विश्वव्यापी श्रेणीमा नेपाल ७७ औं स्थानमा परेको छ।
उद्योगगत मूल्याङ्कनतर्फ ‘सफ्टवेयर तथा डाटा’ क्षेत्रमा नेपालले ९४ औं स्थान हासिल गरेको छ। शीर्ष १०० भित्र पर्न सफल नेपालको यो एकमात्र क्षेत्र हो। तर ‘इनोभेटर्स बिजनेस इन्भाइरोन्मेन्ट’ सूचकमा भने नेपाल १२५ देशमध्ये १०३ औं स्थानमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ।
सहरहरूको विश्वव्यापी सूचीमा काठमाडौंले उल्लेख्य प्रगति गरेको छ। ९९ स्थान सुधार गर्दै काठमाडौं ४२६ औं स्थानमा पुगेको छ। दक्षिण एसियामा यस वर्ष देखिएको ठूलो छलाङमध्ये यो एक मानिएको छ। नेपालको कुल स्टार्टअप इकोसिस्टम स्कोरमध्ये ९५.३ प्रतिशत हिस्सा काठमाडौंको रहेको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, विराटनगरले पहिलो पटक सूचीमा प्रवेश गर्दै विश्वव्यापी रूपमा १५४६ औं स्थान हासिल गरेको छ।
प्रतिवेदनले नेपालको स्टार्टअप वृद्धिमा पछिल्ला नीतिगत सुधारलाई प्रमुख कारण मानेको छ।

प्रतिकृया