अख्तियारको पत्रपछि रोकियो रिलायन्स स्पिनिङ मिल्सको सूचीकरण, नेप्सेमा उजुरीको चाङ

अख्तियारको पत्रपछि रोकियो रिलायन्स स्पिनिङ मिल्सको सूचीकरण, नेप्सेमा उजुरीको चाङ

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपिओ नेप्सेमा सूचीकरण हुन सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र लेखेपछि नेप्से हच्किएको हो। सुपरीवेक्षकीय निकायहरुले नै चासो राखेपछि उनीहरुको चित्त नबुझाई अघि बढ्नु जोखिमपूर्ण हुने विश्लेषण सहित नेप्सेका उच्च अधिकारीहरु सूचीकरण गर्नबाट पछि हटेका हुन्।

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपिओ गैर कानूनी ढंगबाट उच्च प्रिमियममा जारी भएको र यसमा ठूलै चलखेल रहेको भन्दै सर्वसाधारणहरुले समेत उजुरी गरेको नेप्से उच्च स्रोतले बजारको चिरफारलाई बतायो। ‘उजुरीले नेप्सेको मेल भरिएको छ, कार्यालयमै आएर उजुरी दिनेहरु पनि थुप्रै छन्।’ कम्पनीको ओपनिङ्ग रेञ्ज कति कायम गर्ने भन्नेमा समेत नेप्से अन्योलमा छ।

बुक–बिल्डिङमार्फत आईपीओ निष्काशन

रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी १ अर्ब ९० लाख रुपैयाँको १०.१४ प्रतिशत बराबर हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ मूल्यको कुल १९ लाख २६ हजार ६०० कित्ता सेयर सार्वजनिक निष्काशन गर्न अनुमति पाएको हो।

यसमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको थियो भने बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको थियो।

कम्पनीले २०८० माघ १० देखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक–बिल्डिङ प्रक्रियामार्फत सेयर जारी गरेको थियो। बोलकबोल प्रक्रियामा १८ वटा संस्थागत लगानीकर्ताले अधिकतम प्रतिकित्ता ९१२ रुपैयाँसम्मको बोलकबोल गरेका थिए। सोही आधारमा कट–अफ मूल्य ९१२ रुपैयाँ कायम गरिएको थियो।

सर्वसाधारण लगानीकर्तालाई कट–अफ मूल्यमा १० प्रतिशत छुट दिई सेयर निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तोकिएको थियो।

यसअघि गत बर्ष असारमा संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ मागेपछि धितोपत्र बोर्डले २०८१ असार २६ गते बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाएर असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको आईपीओ स्थगित गर्न निर्देशन दिएको थियो।

पछि धितोपत्र बोर्डले गत मङ्सिर १६ गते उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै अवरुद्ध रहेको सर्वसाधारणतर्फको आईपीओ निष्काशन प्रक्रियालाई अघि बढाउन स्वीकृति दिएको थियो ।

सर्वसाधारणतर्फको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता, सामूहिक लगानी कोषका लागि ५७ हजार ७९८ कित्ता र कम्पनीका कर्मचारीका लागि पनि ५७ हजार ७९८ कित्ता छुट्याएर बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको थियो। आईपीओको बाँडफाँड भने गत पुष १८ गते नै सम्पन्न भइसकेको छ।

नेपालमा बुक-बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी हो।

वि.सं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स नेपालकै ठूलो स्पिनिङ उद्योगमध्ये एक हो। कम्पनीले कपास, पोलिएस्टर, भिस्कोस, एक्रिलिक तथा मिश्रित धागो उत्पादन गर्दै आएको छ, जसको प्रमुख निर्यात बजार भारत र टर्की रहेका छन्।

कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व वहनमा सबल स्तरमा रहेको जनाउँछ ।

कम्पनीका दुई उत्पादन केन्द्र सुनसरी जिल्लाको खनार र दुहबीमा अवस्थित छन्। ४,३०० भन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीको वार्षिक उत्पादन क्षमता ५० हजार १६३ मेट्रिक टन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

2 Comments
Oldest
Newest Most Voted
Rahul chaudhary
Rahul chaudhary
4 months ago

Nepsema list hunu parxa

Last edited 4 months ago by Rahul chaudhary
Indra Magar
Indra Magar
4 months ago

नेप्सेमा सुचिकृत नहुने हाे भने ज जसलाई ipo परेकाे हाे तुरुन्त पैसा फिर्ता गर्नुपर्छ

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स