प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले राम्रो काम गर्नेलाई समर्थन गर्नुपर्ने बताएका छन्।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुईतिहाइ समर्थन ‘खेर नजाओस्’ भन्ने सन्देश दिँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।
शर्माले नेपालमा विगतमा प्राप्त दुईतिहाइ बहुमतसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘२०१५ सालको दुईतिहाइ बहुमत मात्र होइन, त्यसपछिका विभिन्न समयमा प्राप्त बहुमत र दुईतिहाइ अवसरसमेत सदुपयोग हुन सकेन। भ्रष्टाचार र कुर्सीको तानातानमा नेतृत्व अल्झिँदा जनताले अपेक्षा गरेको समृद्धि र सुशासन स्थापित हुन सकेन।’
उनले यसपटक दुईतिहाइ समर्थन पाएका दल र नेताहरूले इतिहासबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याएका छन्। ‘अस्थिरताको इतिहास बोकेको नेपाली राजनीतिमा यसपटक दुईतिहाइ समर्थन पाएका दल र नेताहरूले इतिहासबाट शिक्षा लिएर अघि बढ्न सक्लान् त?’ उनले प्रश्न गरेका छन्।
शर्माले अगाडि थपेका छन्, ‘यस अनुत्तरित प्रश्नको जवाफ कर्ममार्फत दिन सके मात्र देश अघि बढ्नेछ। राम्रो काम जसले गरे पनि समर्थन गर्न हिचकिचाउनु हुँदैन। नेपाली राजनीतिमा समस्या गणितीय संख्याभन्दा पनि अस्थिर मानसिकताले पैदा गरिरहेको छ।’
उनले विगतका कमजोरी नदोहोरियोस् भन्ने कामना समेत व्यक्त गरेका छन्।




















प्रतिकृया