नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको दाबी गर्दै अहिले त्यस विषयमा कुनै बहस नभएको टिप्पणी गरेका छन्।
आइतबार एमाले सांसदहरूका लागि आयोजित कार्यक्रममा बोल्दै ओलीले अघिल्लो वर्ष यही समयमा विदेशिने युवाको विषयलाई लिएर व्यापक चर्चा भएको स्मरण गरे। अहिले भने संख्या बढेको अवस्थामा पनि त्यसबारे मौनता देखिएको उनको भनाइ थियो।
“विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो। पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,” उनले भने, “पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर। चुपचाप छ ।”
ओलीले अहिले विदेश जाने युवाको विषयलाई ‘अधिकार’को रूपमा व्याख्या गर्न थालिएको भन्दै त्यसप्रति पनि टिप्पणी गरे।
“पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक। कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन् । जनताको हितविपरीत आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन्,” उनले भने।
उनले यस्ता विषयमा फैलाइएका भ्रम र बङ्ग्याइएका सूचनालाई सच्याएर जनतासमक्ष सही जानकारी पुर्याउने महत्वपूर्ण मञ्च संसद् रहेको बताए।
कानुन निर्माणका लागि आवश्यक बहुमत आफूसँग नभए पनि जनताको हितसँग जोडिएका विषय उठाउने उपयुक्त थलो संसद् नै भएको उनको भनाइ थियो।

प्रतिकृया