कोसी प्रदेश सरकारले ताप्लेजुङमा निर्माणाधीन ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा १० करोड रुपैयाँ सेयर लगानी गर्ने निर्णय गरेको छ। उक्त रकम ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विनियोजन गरिएको हो।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री झिलचन पाठकका अनुसार प्रदेश सरकारले कुल सेयर पुँजीको अधिकतम ५ प्रतिशतसम्म लगानी गर्न सक्ने कानुनी व्यवस्था अनुरूप मन्त्रिपरिषद्बाट निर्णय गरी यो लगानी सुनिश्चित गरिएको हो।
यसअघि प्रदेश सभामा उक्त बजेट कटौतीको प्रस्ताव दर्ता भएको थियो। तर मन्त्री पाठकले घुन्सा खोला आयोजना प्रदेशको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।
नेपाल सरकारको स्वामित्वमा रहेको एचआईडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडले निर्माण गरिरहेको यस आयोजनामा ५१ प्रतिशत सेयर संस्थापक समूहको र ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि रहनेछ।
सर्वसाधारणतर्फ छुट्याइएको ४९ प्रतिशत सेयरमध्ये २४ प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, १५ प्रतिशत स्थानीय बासिन्दा र १० प्रतिशत आम नागरिकका लागि छुट्याइएको छ। यसमा महिलाका लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।

प्रतिकृया